जाजरकोट । नलगाड नगरपालिकाको ३ नम्बर वडा कार्यालयले भूकम्प पीडितबाट एउटा टहरा बराबर १ हजार रुपैयाँ वडामा बुझाउनु पर्ने निर्णय गरेपछि लाभग्राही मारमा परेका छन ।
गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पको पहिलो किस्ता बल्लतल्ल पाएका पीडितले दोस्रो किस्ता पाउनका लागि वडालाई १ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । अस्थायी आवासको लागि टहरा निर्माण गर्न भनेर सरकारले ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । दुई किस्तामा दिइने उक्त रकम मध्य दोस्रो किस्ता प्राप्त गर्न वडामा १ हजार रुपैयाँ तिर्नुपर्ने भएपछी आफूहरु मारमा परेको भूकम्प पीडितले गुनासो गरेका छन ।

वडालाई १ हजार रुपैयाँ दिएमात्र दोस्रो किस्ता भुक्तानीका लागि सिफारिस गर्ने निर्णय गरेको छ, स्थानीय प्रेम थापाले भने वडाले १ हजार रुपैयाँ वडालाई नबुझाए दोस्रो किस्ता नदिने भनेपछि सापट गरेर आफुले वडा कार्यलयमा एक हजार रुपैया बुझाउन बाध्य भए ।’ सोही वडाका हरि बहादुर थापाले भने, हामी निकै मारमा छौं टहरा बनाउन ६० हजार लागिसकेको छ, ऋण सापट गरेर सामान्य बस्ने टहरा बनाईयो, दोस्रो किस्ताको पर्खालमा बसिरहेका छौ । तर वडाले दोस्रो किस्ता लिनको लागि १ हजार रुपैयाँ लाग्ने भनेपछि घरको मकै बेचेर एक हजार रुपैया वडामा बुझाए ।’
वडाध्यक्ष कौसी विष्टले आफूहरुले खानाको लागि नभई वडा भित्रका रहेका स्वास्थ, विद्यालयहरुको भौतिक संरचना पुनर्निर्माणको लागि प्रति टहराको १ हजार रकम संकलन गर्ने निर्णय गरेको बताए । वडाध्यक्ष विष्टका अनुसार वडाले हालसम्म ३८ जनाबाट १ हजार रुपैयाँ संकलन गरि दोस्रो किस्ताको भुक्तानीको लागि सिफारिस गरिसकिएको छ ।
भूकम्पले घरबार विहीन भएका नागरिकलाई थप राहत दिनुपर्ने ठाउँमा राज्यले उपलब्ध गराएको रकमबाट नै वडाले १ हजार रुपैयाँ अशुल्ने निर्णय गरेपछि उक्त निर्णयको आलोचना भएको हो।





