जाजरकोट । जिल्लाको भेरी नगरपालिका –८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । घोषणासँगै यो वडा भेरी नगरपालिकाको पहिलो तथा जिल्लाकै छैटौं बालमैत्री वडा बनेको छ । जिल्लाको पहिलो बालमैत्री वडा छेडागाड नगरपालिका–११ लाइ घोषणा गरिएको थियो भने, दोस्रो वडामा कुशे गाउँपालिकाको वडा नं. १ लाइ घोषणा गरिएको थियो । तेस्रोमा कुशे गाउँपालिकाको वडा नं. ९ लाइ घोषणा गरिएको थियो भने, चौथोमा छेडागाड नगरपालिका–४ लाइ घोषणा गरिएको थियो । पाँचौमा कुशे गाउँपालिकाको वडा नं. ५ लाइ घोषणा गरिएको थियो भने, छैटौमा भेरी नगरपालिकाको वडानं. ८ लाइ घोषणा गरिएको हो ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकहरु पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अङ्क हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । वडा नं. ८ मा दुई हजार १ सय ९ जनसङ्ख्या छ ।
वडाअध्यक्ष विरबहादुर चन्दले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको बताए । उनले बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बालमैत्री वडा घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथकिमतामा राखिने बताए । वडा नं. ८ ले बालमैत्री वडा घोषणाको सुरुवात गरेको भन्दै बाँकी वडालाई समेत बालमैत्री वडा घोषणा गर्न आफूहरु तयारी गरिरहेको बताए । बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकहरुमा ९५ प्रतिशत भन्दा बढि प्रतिशत नम्बर हासिल गरेको हुनाले ८ नम्बर वडालाइ नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा गरिएको घर्तीले भनाइ राखेका थिए ।
बालमैत्री स्थानीय शासन घोषणा भएको वडाको दीगोपनमा लागि पर्न अधिकृत घर्तीले वडाबासीलाइ आग्रह गरेका थिए । “सतप्रतिशत जन्मदर्ता, खोप र विद्यालय भर्नाजस्ता कार्यक्रम सफल भएका छन, निर्देशिकाले तय गरेको ५१ वटा सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ, उनले भने, स्थायित्वको लागि सबै सजक हुनुपर्छ ।”
त्यसैगरी १ वर्षभित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको सङ्ख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त क्षेत्र भएको हुनुपर्ने व्यवस्था रहेको उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले पूर्वाधार संगै नागरिकको चेतना अभिवृद्धि गर्ने कुरा पनि विकासको महत्वपूर्ण क्षेत्र भएको बताए । बालबालिकाहरुमा समाजको भविष्य जोडिएकोले उनिहरुको समग्र विकासका लागि सबै तहका सरकारहरु गम्भिर हुनुपर्ने भन्दै मन्त्री शाहले वडा र भेरी नगरपालिकाका उक्त कार्यको बाँकी वडाहरु र अन्य पालिकाहरुले सिको गर्नुपर्ने बताए ।
बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, दुव्र्यवहारमा कमी आएको हुनुपर्ने निर्देशिकामा व्यवस्था छ । त्यस्तै, छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधासहित छात्रछात्राका लागि अलग-अलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब सञ्जालको प्रतिनिधित्व भएको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
पाँचतारा युवा संरक्षक मञ्च, वल्र्ड भिजन इन्टरनेशनल लगायतका साझेदार संस्थाहरुको सहकार्यमा वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रममा विद्यालयहरु र स्थानीयहरुले विभिन्न साँस्कृतिक झाँकीहरु प्रदर्शन गरेका थिए ।

आफ्नै भवनबाट सेवा सुरु
वडा कार्यालयको काम आफ्नै भवनबाट सुरु भएको छ । नगरपालिकाको गत आर्थिक वर्षको बजेटबाट वडाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएपछि वडाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले वडाको कार्यालय भवनको उद्घाटन गरेका हुन ।







