जाजरकोट । कुशे गाउँपालिका–४ कि सुप्रिया शाहीले क्यान्सर पीडितका लागि कपाल दान गरेकी छन् । शाहीले सोमबार क्यान्सर पीडितका लागि आफ्नो कपाल दान गरेकी हुन् । उनले कपाल दान गर्न पाउनुमा आफू निकै खुसी भएको समेत बताएकी छन् ।
कपाल दानपछि शाहीले फेसबुकमा लेखेकी छन्‘ “यो निर्णयसम्म पुग्न त्यति सजिलो बिलकुलै भएन । सामाजिक प्राणीका रूपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्यो । मैले मेरो मनलाई जिते । म मेरो यो निर्णयबाट एकदमै खुसी छु । विभिन्न रोग र हिंसा, विशेष गरी क्यान्सरबाट पीडित आमा–बुबा, दाजु–भाइ,र दिदीबहिनीहरूले आफ्नो कपाल गुमाउनु भएको छ ।
उनी थप लेख्छिन ‘मैले उहाँहरूको पिडा देखेको छु । धेरै केही गर्न नसके पनि म केही पल, केही छिन उहाँहरूको साथमा उभिन चाहान्छु । सँगैसँगै एक नारीको सौन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरूमा पनि केही परिवर्तन भएको हेर्न चाहन्छु ।’
काठमाडौमा बसेर कानून विषय अध्ययन गरिरहेकी शाही सानो उमेरदेखि नै विभिन्न सामाजिक सेवामा अग्रसर छन् ।




