
खलंगा । नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर एमालेले जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
पार्टी प्रचार तथा प्रकाशन विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख नर बहादुर बस्नेत (एनबी) ले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरे । कला, संस्कृति र सम्पदाले सम्पन्न जाजरकोट जिल्लाको परिचयलाई झल्काउने जगतिपुरको ऐतिहासिक बायुघट्ट, ऐतिहासिक जाजरकोट दरबार, शिवालय मन्दीर, जाजरकोट जिल्लाका उत्तरी भागमा बास स्थान भएको विश्वकै दुलर्भ रेडपाण्डा, कस्तुरी लगाएतका वन्यजन्तु, जाजरकोट जिल्लामा पाईने विश्वकै दुलर्भ सुनगिद्ध, चिरकालिज, जलेवा लगाएतका पन्छीहरु, राष्ट्रिय फुल लालिगुराँस, बहुमल्य पत्थर, जडिवुटी लगायतका वनस्पतिहरुलाई सातौं जिल्ला अधिवेशनको लोगोमा समावेश गरिएको विभाग प्रमुख एनबी बस्नेतले जानकारी दिए ।
सार्वजनिक गरिएको सातौं जिल्ला अधिवेशनको लोगोले नेकपा एमाले ऐतिहासिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रको विकास संगै राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितमा महत्वपूर्ण योगदान गर्ने पार्टीका रुपमा परिचित गरेको प्रचार विभाग प्रमुख बस्नेतले भनाई राखेका थिए । यही चैत २५ गतेदेखि २७ गतेसम्म जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी गरिएको बस्नेतले बताए ।
जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौटको काम करीब सकिएको नेता बस्नेतले बताए । वडालाई भूगोल मानेर भूगोल, समावेशी र अन्य कलष्टर निर्धारण गरी प्रतिनिधि छनौट गर्ने विधि निर्माण गरिएको बताउँदै नेता बस्नेतले ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य गरिएको बताए । समावेशी तर्फ पालिकालाई केन्द्र बनाएर २५ जना सदस्य बराबर १ जना दलित प्रतिनिधि, २० जना सदस्य बराबर १ जना जनजाति प्रतिनिधि छनौट गर्ने प्रावधान राखिएको बस्नेतले जानकारी दिए ।
पार्टीका २३ वटा जनसंगठन मध्य जिल्लामा १८ वटा रहेको जानकारी दिँदै नेता बस्नेतले जनसंगठनबाट प्रतिनिधि छनौटको केन्द्र जिल्लालाई बनाएको बताए । आगामी जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष पदमा बहालवाला अध्यक्ष खिम बहादुर शाही र युवा नेता नरेन्द्र कुमार शाहीले दावी गरेको बुभिएको छ । सुदृढ पार्टी निर्माणको लागि निर्वाचन नभएर सर्वसहमतिबाट नेतृत्व चयन गर्नुपर्ने आवाज बलियो रुपमा उठेको बताइएको छ ।
पार्टी कर्णाली प्रदेश कमिटीका पूर्वउपाध्यक्ष लाल बहादुर महताराले जिल्ला अध्यक्ष पदमा मनसाय राखेमा सर्वसहमत हुन सक्ने श्रोतको दावी छ ।




