
जाजरकोट । नेकपा एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशन जारी छ । जिल्ला सदरमुकाम खलंगमा आइतबारदेखि सुरु भएको अधिवेशनको बन्दशत्रमा आगामी नेतृत्वका लागि मनोनयन दर्ताको काम सकिएको छ ।
एमाले जाजरकोटको अध्यक्षका लागि वर्तमान अध्यक्ष खिमबहादुर शाही संगै युवा नेता नरेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन । शिक्षण पेशा छोडेर राजनीतिमा लागेका युवानेता शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा शिवालय गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय सरकारको सफल कार्यकाल पूरा गरेका शाही हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।
उनले अध्यक्षमा उम्मेदवारी दिएपछि एमालेभित्र नयाँ बहस सुरु भएको छ । आफ्नो उम्मेदवारी नेतृत्व परिवर्तनका लागि मात्र नभई पुस्तान्तरणका लागि भएको शाहीको भनाई छ । एमाले देशकै ठुलो पार्टी हो, यहाँ ठुलो संख्यामा नेताहरु छन शाहीले भने, ‘पटकपटक एउटै व्यक्तिलाई दोहोर्याएर नेतृत्व जाम गर्न हुन्न भनेर पुस्तान्तरका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।’
आफु कार्यकर्ताको अपेक्षा बमोजिम उम्मेदवार भएको भन्दै शाहीले ढुक्कले निर्वाचित हुने विश्वास व्यक्त गरे । उनको पक्षबाट उपाध्यक्षमा मोति ओली, सचिवमा नरबहादुर बस्नेत तथा उपसचिवमा तप्त हमाल र हरिकला जैसीले उम्मेदवारी दिएको एमालेले जनाएको छ ।




