जाजरकोट । स्थानीय तहले गर्ने वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा जिल्लाका ७ वटा स्थानीय तहमध्य भेरी नगरपालिका उत्कृष्ट भएको छ । संस्थागत क्षमता विकास स्वमुल्याङ्कनमा भने नलगाड नगरपालिका प्रथम भएको छ ।
आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा नलगाड नगरपालिकाले ९५.५ अंक प्राप्त गरेर जिल्लामा प्रथम भएको हो । लिजामा छेडागाड नगरपालिकाले ७७.५ अंक प्राप्त गरेको छ भने, भेरी नगरपालिकाले ६९.७५ अंक प्राप्त गरेको छ । त्यसैगरी जुनीचाँदे गाउँपालिकाले ६२.७५ अंक प्राप्त गरेको छ भने, बारेकोट गाउँपालिकाले ६०.५ अंक प्राप्त गरेको छ । शिवालय गाउँपालिकाले ४५.२५ अंक प्राप्त गर्दा कुशे गाउँपालिकाले ४१.५ अंक मात्र प्राप्त गरेको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) का मुल्यांकनका क्षेत्रहरु रहेका छन ।
आर्थिक वर्ष २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा भेरी नगरपालिका जिल्लाको उत्कृष्ट स्थानीय तह बन्यो । भेरीले ८३.५ अंक प्राप्त गरेर जिल्लाका अन्य पालिकाहरु भन्दा उत्कृष्ट भएको हो । लिजामा प्रथम भएको नलगाड नगरपालिकाले ७९.५ अंक प्राप्त गरेको छ भने, कुशे गाउँपालिकाले ७४.५ अंक प्राप्त गरेको छ । शिवालय गाउँपालिकाले ६९.५ अंक प्राप्त गरेको छ भने, छेडागाड नगरपालिकाले ६४.५ अंक प्राप्त गरेको छ । बारेकोट गाउँपालिकाले ६३.५ अंक प्राप्त गरेको छ भने, जुनीचाँदे गाउँपालिकाले ६१ अंक प्राप्त गरेको छ ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्याङ्कन तथा लेखा परीक्षण, राजश्व व्यवस्थापन स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कणका विषयक्षेत्रहरु हुन ।




