Karnali Aawaj

Advertisement
Advertisement

कर्णाली प्रदेशसभाको ६ वर्ष : सुस्त र कमजोर कार्यसम्पादन

Advertisement

सुर्खेत । ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले सर्वसम्मत रुपमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकेको थियो ।

त्यतिबेला सत्तापक्ष र विपक्षी दलका नेताले प्रदेशसभाको रोष्ट्रममा उभिएर ‘कर्णालीको विपक्षी, यहाँको रोग, भोग र गरिबी हो’ भन्दै यसका विरुद्ध एक भई लड्ने उद्घोष गरेका थिए । प्रदेश सभाको सुरुवाती परिदृष्यले कर्णालीबासीमा उत्साह थपेको थियो । केन्द्र सरकारको नजर नपरिरहेको कर्णालीमा नजिकै प्रदेश सरकार आएपछि यहाँका बासिन्दाले आफूहरुको विकासको चाहना पूरा हुने आशा गरेका थिए । तर प्रदेशमा पनि केन्द्रमा जस्तै सत्ता राजनीतिको फोहोरी खेल हुन थालेपछि यहाँका जनता निराश भएका राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् । ‘नयाँ संरचनाबाट केही परिवर्तन हुने आस गरेका जनतामा थप निराशा पैदा हुन थाल्यो’, ढकाल भन्छन् ।

कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा दुई जना मुख्यमन्त्री र २० जना मन्त्री भए । २०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा एक मुख्यमन्त्री र ११ जना मन्त्री भइसकेका छन् । तत्कालिन एमालेका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेको घटनाले कर्णालीलाई चर्चामा ल्यायो । कानुन निर्माण गर्ने, जनसरोकारका विषय उठाएर प्रदेश सरकारलाई झकझक्याउने मुख्य जिम्मेवारी रहेको कर्णाली प्रदेशसभा मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाजस्तो बन्यो ।

प्रदेश सभाले हालसम्म ५७ वटा कानुन निर्माण गरेको छ । पहिलो पाँच वर्षे कार्यकालमा ५३ वटा ऐन निर्माण गरेको प्रदेश सभाले दोस्रो कार्यकालको एक वर्षमा बजेटसँग सम्बन्धित दुईवटासहित चार वटा मात्र कानुन बनाएको छ । ‘केन्द्रमा झै प्रदेशमा पनि सत्ता राजनीतिको फोहोरी खेल देखिन थाल्यो । विगत ६ वर्षमा नेताहरु सत्तामुुखी मात्रै भए, यो बीचमा प्रदेश सरकारले आफ्नै लागि आवश्यक पर्ने कानुन समेत बनाउन सकेन’, ढकालले अनलाइनखबरसंग भने ।

प्रदेशसभाको अधिवेशन बोलाउने र अन्त्यको सिफारिस गर्ने अधिकार प्रदेश सरकारलाई छ । त्यस्तै प्रदेशसभा बैठकका लागि विषय दिने अर्थात बिजनेस दिने पनि प्रदेश सरकारले नै हो । प्रदेशसभाले काम गर्न नसक्नुमा प्रदेश सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ । कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भने सरकारले आवश्यकता अनुुसार संसदलाई बिजनेस दिएको दाबी गर्छन् ।

‘कानुुन निर्माणको संख्या हेरेर मात्र संसदको प्रभावकारिता हेरिनुहुँदैन’, अनलाइनखबरसंग कुरा गर्दै जिसीले भने, ‘आवश्यकता अनुसार बिजनेस दिने र सदन चलाउने काम भइरहेको छ ।’

सदनमा उठेका सवाल र संसदीय समितिले दिएका निर्देशनहरु पनि सरकारले कार्यान्वयन गरेको मन्त्री जिसीको दावी छ ।

प्रदेशसभाले एक वर्षमा के गर्‍यो ? 

२०७९ मंसिरको निर्वाचनबाट गठित प्रदेशसभाको एक वर्षको संसदीय गतिविधि हेर्ने हो भने नीति निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भएको देखिन्न । १८ पुस ०७९ मा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको एक वर्ष सरकार गठन, मुख्यमन्त्रीको विश्वासको मत, सभामुख चयनदेखि संसदीय समिति गठन लगायतकै गतिविधिमा सीमित भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार २०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेशसभाको पहिलो अधिवेशनमा ०७९ पुस १० देखि ०८० वैशाख १७ सम्म १५ वटा बैठक बसेको थियो । त्यस्तै ०८० जेठ १० देखि असोज २२ सम्म भएको दोस्रो अधिवेशनमा ३९ वटा बैठक बसेको थियो ।

यो अवधिमा प्रदेशसभाले जम्मा चारवटा विधेयक पारित गरेको छ । जसमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ९स्थापना र सञ्चालन० सम्बन्धी विधेयक, कर्णाली प्रदेश निजामती सेवासम्बन्धी विधेयक, कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक आदि छन् ।

प्रदेशसभामा तीन वटा विधेयक विचाराधीन छन् । खेलकुद विकास ऐन, ०७६ को संशोधन विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक, कर्णाली प्रदेशको विद्युतसम्बन्धी विधेयक विचाराधीन छन् ।

खेलकुद विकास ऐनको संशोधन विधेयक फिर्ता लिन सरकारले प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङका अनुसार विधेयक थप संशोधन गर्नुपर्ने भन्दै सरकारले फिर्ता मागेको छ । सांसदहरुले नीति निर्माणभन्दा पनि विकास व्यवस्थापकका रुपमा आफूलाई उभ्याइरहेका छन् । उनीहरुको ध्यान कानुन निर्माण भन्दा आफ्नो निर्वाचन क्षेत्रमा कसरी योजना पुर्‍याउन सकिन्छ भन्नेतिर केन्द्रित देखिन्छ ।

निष्क्रिय मिनी संसद्

प्रदेशसभा निर्वाचनको करिब ६ महिनापछि गत १४ जेठमा गठन भएका संसदीय विषयगत समितिहरुले खासै क्रियाशीलता देखाउन सकिरहेका छैनन् । प्रदेश सभामा सामाजिक विकास समिति, प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समिती गरी चारवटा समिति रहेका छन् ।

यो बीचमा प्रदेश मामिला समितिले लोक सेवाको कार्यालय लगायतका ठाउँमा छड्के अनुगमन गरेको थियो । तर, लोक सेवा आयोग जस्तो संवेदनशील कार्यालयमा छड्के गरिएको भन्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नै संसदमा प्रश्न उठाएका थिए । सार्वजनिक लेखा समितिले प्रदेश सरकारको बेरुजुको विषयमा छलफल चलाए पनि निचोडमा पुग्न सकिरहेको छैन । छलफल गरिनुपर्ने विषय तमाम हुँदा पनि समितिहरुले तदारुकता देखाउन नसकेको सरोकारवालाहरु बताउँछन् ।

सभामुख नन्दा गुरुङले भने संघीय व्यवस्थाको सवलीकरण र कर्णालीको उन्नयनमा प्रदेशसभाले प्रभावकारी भूमिका खेलिरहेको दावी गरिन् । ‘प्रदेशसभाको प्रभावकारिता र औचित्य पुष्टि गर्ने काम संसद् र सरकारले गरिरहेको छ । केही पनि भएन भनेर आत्तिहाल्नुपर्ने स्थिति छैन ।’

प्रमुख प्रतिपक्षी दलका नेता यमलाल कँडेल भने सभामुख, सांसद र संसदीय समितिहरु सबैको भूमिका कमजोर रहेको बताउँछन् । ‘प्रदेशसभा र सरकार दुबैको भूमिका कमजोर छ । यो एक वर्षमा समर्थन गर्न लायक कुनै एउटा काम पनि छैन’, उनले भने, ‘यसरी त चल्दैन, नेतृत्व तहमा रहेका साथीहरु नसच्चिने हो भने स्थिति झनै कठिन हुनेछ ।’

प्रदेश सभाको दोस्रो कार्यकाल पनि पाँच वर्ष पहिलेको भन्दा खासै फरक नभएको लेखक तथा अध्येता माधव चौलागाई बताउँछन् ।

‘प्रदेशसभा र सरकारले उल्लेखनीय खासै केही गरेन । परम्परागत शैलीकै अभ्यास भयो । आसेपासेलाई पोसियो । सांसदले धेरैजसो समय सत्ताको खिचातानीमै गुजारे’, उनले भने । ‘अब सरकार र सदनमा भएकाहरु सबै सच्चिन आवश्यक छ । यही स्थिति रहे जनतामा झनै निराशा र बितृष्ण फैलिन्छ ।’

अनिश्चित हिउँदे अधिवेशन

गत असोजदेखि प्रदेशसभाको बैठक स्थगित छ । प्रदेशसभा सक्रिय नहुँदा कानुन निर्माणमा बाधा पुग्ने र जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको आवाज सनाउन पाएका छैनन् ।

प्रदेशसभाका सचिव जीवराज बुढाथोकी अधिवेशन आह्वान हुने अपेक्षामा रहेको बताए । ‘सरकारले हिउँदे अधिवेशनका लागि आह्वान गर्ला अब’, उनले भने, ‘अन्य भौतिक संरचना र जनशक्ति हामीसंग पर्याप्त छ ।’

गत शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले तत्काल कर्णाली प्रदेशसभा अधिवेशन आह्वान गर्न माग गरेको छ । एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता कँडेलले लामो समयदेखि सभा स्थगित भएको भन्दै तत्काल अधिवेशन आह्वान गर्न माग गरेका थिए । – Onlinekhabar

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search