जाजरकोट । बारेकोट गाउँपालिकाले सुरु गरेको मानव-पशु अलगघर निर्माण कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बारेकोट गाउँपालिकाले अघि सारेको मानव-पशु अलगघर निर्माण कार्यक्रमका लागि लागि १ करोड बिनियोजन गरिएको हो ।
आफुहरुले पालिकाभित्र मान्छे र पशु एकै घरमा बस्नुपर्ने बाध्यताबाट अलग गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । यसअघि एउटै घरको भुइँतलामा पशु चौपाय र माथिल्लो तलामा मानिसहरू बस्दै आएकोमा गिरी अध्यक्षमा निर्वाचित भएलगत्तै मानव-पशु अलगघर निर्माण कार्यक्रम अघि सारेका थिए ।
मानव र पशु संगै बस्नुपर्ने बाध्यताले सरसफाई नहुने देखि नागरिकहरु विभिन्न प्रकारका संक्रमण झेल्न बाध्य नागरिकलाई स्वस्थ र पशुपालन व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको अध्यक्ष गिरीले बताए । कार्यक्रम सम्पन्न गर्न पालिकाको बजेटले नभ्याउने भएपछि आफुले प्रदेस सरकारलाई बजेट व्यवस्थापनका लागि अनुरोध गरेको अध्यक्ष गिरीको भनाई छ ।
बारेकोटमा चालु आर्थिक वर्षमा पनि मानव-पशु अलगघर निर्माण कार्यक्रम संचालन भईरहेको छ । हालसम्म ९५ पशुघर निर्माण भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिए । सुरुमा पाँच भैँसी हुने किसानलाई उक्त पशुघर निर्माण गरिएको थियो भने आगामी वर्षमा तीनदेखि पाँच वटासम्म भैँसी हुने किसानका लागि पशुघर निर्माण गरिने उनको भनाई छ ।
पशु पालनका हिसाबले राम्रो सम्भावना रहेको बारेकोटका किसानहरु वर्षायाममा आफ्ना पशु चौपायलाई चरिचरनका लागि पाटन क्षेत्रतिर लिने गर्दछन ।




