जाजरकोट । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले लुम्बिनी रारा सडकको जाजरकोट खण्डको रूट परिवर्तन गर्न प्रस्ताव गरेका छन । मन्त्री शाहले सो सडकको हालको रुटबाट निर्माणको काममा ढिलाइ भएकोले रुट परिवर्तन गरि छेडा बाटुले हुँदै जुम्ला जोड्नु पर्ने प्रस्ताव गरेका हुन ।
जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको १३ औं जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री शाहले विकासहरु एकैठाउँ केन्द्रीकृत गर्न नहुने भन्दै ठाउँको अवस्था र आवश्यक्ता अनुसार परिवर्तन गर्नुपर्ने बताए ।
लुम्बिनी रारा सडकको जाजरकोट खण्ड हाल जिल्ला सदरमुकाम खलंगा हुँदै राङ्सी, पाँचकाटिया, कुशेबाट जुम्ला जोडिने गरि रुट तय भएको छ ।
मन्त्री शाहले भने ‘लुम्बिनी रारा सडकको राङ्सी क्षेत्रमा ठाउँको कारण निर्माण कार्यमा ढिलाई भएको छ, उक्त सडकको क्षेत्राधिकार ५० मिटर रहेकोले गैरीखाली क्षेत्रको बस्ती नै उठ्नु पर्ने अवस्था आउछ, त्यसैले यो सडक छेडा हुँदै बाटुलेबाट कुशे जोडर जानु पर्छ ।’
उक्त सडकको रुट परिवर्तन गरि छेडाबाट लग्दा जिल्लाको पश्चिम क्षेत्रको विकासमा सहयोग पुग्ने मन्त्री शाहको भनाई छ ।
मन्त्री शाह जाजरकोटकाे प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन ।




