काठमाडौं । कर्णाली राजमार्ग स्तरोन्नति गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कर्णाली राजमार्गको स्तरोन्नती गर्दै सम्भावित सार्वजनिक सवारी दुर्घटनाको रोकथाम र नियन्त्रण सम्बन्धी छलफल गर्न भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो ।
१० वर्षमा कर्णाली राजमार्गमा भएका १ हजार ८ सय २१ दुर्घटनामा ९ सय ९१ जनाले ज्यान गुमाएको र सडक स्तरोन्नति गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले बताउनु भयो ।
रास्वपा सांसद कठायत प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू सोबिता गौतम, मैना कार्की, अम्मरबहादुर थापा, अनिशा नेपाली, कान्तिका सेजुवाल, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ लामा लगायत सांसदले समर्थन गरेका छन् ।
प्रस्तावमा भनिएको छ, ‘पुरानो कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । साँघुरो बाटो र द्वन्द्वकालमा निर्माण कार्यमा विलम्ब भएकाले निर्माण कार्य पूर्ण हुन नसकेकाले यो मार्गमा यात्रुलाई सास्ती भएको छ । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्र पर्ने गर्दछन् । राजमार्ग पुनःस्थापना मात्र नभई सडक कालोपत्रेका लागि सरकारले बजेट छुट्याउन सके कर्णालीका लागि दीगो विकासमा टेवा पुग्नेछ ।’
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७१ बमोजिम प्रस्तावको सूचना दर्ता गरिएको सांसद कठायतले जानकारी दिनु भयो । प्रस्तावमा कर्णालीमा यातायात सेवालाई सरल र भरपर्दो बनाउन आवश्यक निर्देशन दिनुपर्ने, सम्भावित सार्वजनिक सवारी दुर्घटनाको रोकथाम र नियन्त्रणका लागि उपाय अपनाउनुपर्ने तथा कर्णालीका जनताको विकाशको अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।




