जाजरकोट । भेरी नगरपालिकाले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
नगर क्षेत्रभित्रका पालिकाको बजेटले नभ्याउने दिर्घकालिन महत्वका आयोजनाहरु निर्माणका लागि नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले मन्त्री शाहलाई ज्ञापनपत्र बुझाएका हुन ।
नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी श्रोत अभावका कारण निर्माण गर्न नसकेका आयोजनाको निर्माण कार्यका लागि प्रदेश सरकारसंग आवश्यक बजेट माग गरिएको नगर प्रमुख घर्तीले बताए ।
नगर प्रमुख घर्तीका अनुसार वडा नं. ३ र ४ अन्तरगत बजार क्षेत्र भित्रको ढल निकास, तल्लो थाप्ले बसपार्क निर्माण तथा पहिरो नियन्त्रण, रानागाउँ र काफलचौर डाप्का कबर्डहल निर्माण, मछाइना मालिका र सिद्धपाइला पर्यटन क्षेत्र निर्माण तथा प्रवर्धनका लागि बजेट माग गरिएको छ ।
त्यसैगरी स्याउलीबजार देखि झ्यालाहाल्ना सडक, रानागाउँ नेटीबजार मेलटाकुरी सडक, पिपे बडालेख हुँदै पाँचकाटिया सडक र जगतिपुर बायुघट्ट देखि काफलचौर नेटीबजार सडक निर्माणका लागि समेत ज्ञापनपत्र मार्फत बजेट माग गरिएको छ ।
नगर प्रमुख घर्तीले सार्वजनिक महत्वको विषयमा समेत मन्त्री शाहलाई ध्यानाकर्षण गराएका छन ।
जाजरकोट प्रदेश सभा (ख) बाट निर्वाचित सांसद समेत रहेका शाहलाई नगर प्रमुख घर्तीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मध्यमहाडीको पुल, छिन्चु जाजरकोट सडक अन्तरगत पासागाड खोलाको पुल, लुम्बिनी रारा सडकको राङ्सी पाँचकाटिका सडक तत्काल निर्माणका लागि आवश्यक पहल गर्न ध्यानाकर्षण गराएका हुन ।
मन्त्री शाहले जिल्लाबाट निर्वाचित भई प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेकोले आफूहरुको माग सम्बोधन हुने अपेक्षा रहेको नगर प्रमुख घर्तीको भनाई छ ।




