सुर्खेत । विवाह भन्ने वित्तिकै धेरैको मानसपटलमा गरगहना र दाइजो आइहाल्छ । अरुलाई देखाउनकै लागि भएपनि विवाहमा दुलही सुनका गरगहनामा झकिझकाउ हुन्छन ।
सुन मात्र होइन कानुनी रुपमा गलत मानिएपनि सामाजिक रुपमा दाइजो पनि भित्रभित्रसम्म जरा गाडेर बसेको अवस्था छ । तर सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले भने आफ्नो विवाहमा यी दुबैकुरा बहिस्कार गरेकी छन् ।
उनले सोमवार सुन नलगाएरै विवाह गरिन । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि नै सुन नलगाएरै विवाह गर्ने निर्णय गरेको नवदुलही ढकालले बताइन् ।
बुटवलका रामु ज्ञवालीसँग विवाह गरेकी ढकालको जोडी नै नेपाल सरकारको शाखा अधिकृत हुन । अस्मिताले सुन र दाइजो विना विवाह गर्ने निधो पहिले नै गरेकी थिइन । तर, उनका माइती र घर पक्ष भने राजी भएनन् । अन्तत: दुवै पक्ष मान्न तयार भए ।
‘सुरुमा त मेरो कुरामा बुवाआमाहरु मान्न तयार हुनुभएन तर, मैले मनाएरै छाडे’ अस्मिताले भनिन्, ‘मैले विवाहमा सुन नलगाउनु मात्र ठूलो कुरा होइन तर, यसले दिने सन्देश समाजमा सकारात्मक जाओस् भन्ने हो ।’
निम्न वर्गका परिवारहरुलाई विवाहमा सुन जुटाउन आर्थिक रुपमा बोझिलो हुने गर्दछ त्यसकारण यस्ता परम्पराहरुको अन्त्य गर्नु जरुरी रहेको उनको भनाई छ । यसको सुरुवात आफैबाट गर्नु उचित हुँदा यसरी विवाह गर्ने निचोड गरेको उनले बताइन् ।
समाजमा अनावश्यक खर्च गर्नु हुँदैन भन्ने सन्देश दिन छोरीले गरेको निर्णय मान्न तयार भएको यामु लामिछाने बताउँछिन् । ‘छोरीले नै म गहना लगाउदिन भनेर भनेपछि हामी त मान्न तयार हुनुप¥यो’ उनी भन्छिन्, ‘यसरी सुन विना नै अनौठो विवाह भयो ।’




