कर्णाली । कर्णाली प्रदेशमा चाडपर्वको समयमा ४ हजार बढी प्रहरी परिचालन गरिएको छ । प्रहरीको ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार बढि प्रहरी परिचालन गरिएको हो ।
नेपालीहरूको महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभरि चार हजार ३५१ प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए । चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको प्रमुख भट्टराईले बताए ।
‘चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना कार्यान्वयन गर्नरगराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूबाट उल्लिखित सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ’, उनले भने, उनका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् ।’
चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैङ्क तथा वित्तीय संघसंस्था लगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारीजस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक भट्टराईले जानकारी दिए ।
सुरक्षा योजनाअनुसार प्रदेश तथा जिल्ला कमान्ड १२ पोष्टहरुमा १४५ जना प्रहरी परिचालन गरिएको छ । प्रदेश तथा जिल्ला ‘रिजर्भ’ टोली १४ वटामा ४०१ प्रहरी जनशक्ति परिचालन गरिएको छ । भवितव्य वा आकस्मिक रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने प्रहरी नायब महानिरीक्षक भट्टराईले बताए ।
त्यसैगरी, ४८ मोबाइल गस्ती टोलीमा २३४, एक सय दुई मोटरसाइकल गस्तीमा १५२, पैदल गस्तीअन्तर्गत २३३ गस्तीमा ६२७, एक सय नौ तत्काल प्रतिकार्य टोली (क्युआरटी) परिचालन गरी सो अन्तर्गत २४८, लामो तथा छोटो दूरीको एक सय गस्तीमा तीन सय ७७, पिकेट एक सय १३ स्थानमा दुई सय ७६, स्ट्राइकिङ नौ स्थानमा ७६ र मातहत प्रहरी अनुगमन तीनवटामा २४ जना प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
लामो तथा छोटो दूरीको गस्तीअन्तर्गत एक सय गस्तीमा ३७७ जना प्रहरी खटाइएको छ । नियमित, विशेष तथा आकस्मिक चेकिङका लागि १६२ स्थानमा ३९०, पचासी ठाउँमा ट्राफिकसहित १९९ प्रहरी र बैङ्क तथा वित्तीय सङ्घसंस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षा लगायतको सुरक्षाका लागि १९८ स्थानमा ७५० प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ ।




