जाजरकोट । मध्यपहाडी राजमार्ग अन्तरगत जाजरकोटको भेरी नगरपालिका १० नुवागाउँ नजिक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन ।
कार्कीगाउँ देखि जगतिपुर आउने क्रममा मध्यपहाडी सडक निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श निर्माण सेवा प्रालिको प्रदेश नम्बर ३-०१०२३ च ४७१९ बोलेरो जीप नुवागाउँको घुम्तिमा दुर्घटनामा परेको हो ।
जीपमा सवार ३ जना मध्य २ जनाको घटनास्थलमा नै मृत्यु भएको र १ जना घाइते भएको स्थानीय ओमप्रकाश केसीले बताए । उनका अनुसार मृत्यु हुनेमा गाडी चालक र गाडीको मिस्त्री रहेका भनिएपनि पहिचान हुन बाँकी छ । घाइतेलाई स्थानीयहरुले उद्धार गरी उपचारका लागि पठाउने तयारी गरेको केसीले बताए । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
दुर्घटनाको जानकारी पाउनसाथ जगतिपुरबाट प्रहरीको टोलि पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । दुर्घटना भएको ठाउँ नजिक प्रहरी चौकी नभएकोले त्यहाँ पुग्न केहि समय लागेको भन्दै जिल्लाबाट समेत थप टोली पठाइएको डिएसपी पाण्डेको भनाई छ ।




