जाजरकोट । जाजरकोटमा परम्परागत रुपमा लाग्दै आएको रमाईलो मेलाको व्यवस्थापन डाँफे युवा क्लवले गर्ने भएको छ । सदरमुकाम खलंगा स्थित थाप्लेचौरमा परम्परागत रुपमा लाग्दै आएको रमाईलो मेलालाई यस वर्ष डाँफे युवा क्लवले व्यवस्थापन गर्ने निर्णय भएको हो ।
यस वर्ष पुष १२ देखि १६ गते सम्म मेला लाग्ने क्लवका अध्यक्ष विश्व विक्रम शाहले बताए । थाप्लेचौरको बसपार्कमा लाग्ने मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पुरुष भलिबल प्रतियोगिता र कृषि उपज प्रदर्शनीको समेत आयोजना गरिएको छ । मेलाको आकर्षणको रुपमा प्रत्येक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सहति स्थानीय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष शाहको भनाई छ ।
त्यस्तै विशेष पुरस्कार राशीसहितको जाजरकोट जिल्ला भित्रको अन्तर वडाकप पुरुष भलिबल प्रतियोगिता राखिएको अध्यक्ष शाहले बताए । त्यसैगरी मेलामा जिल्लाभित्र उत्पादित बेमौसमी कृषि उपजहरुको प्रदर्शनी समेत गरिने भएको छ । उक्त प्रदर्शनीमा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्नुका साथै स्वैच्छिक रुपमा साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने समुहहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
थाप्लेचौर स्थित त्रिभुवन माविको खेलमैदानमा लाग्दै आएको रमाईलो मेला यस वर्ष विद्यालय भन्दा बाहिर थाप्लेचौर वसपार्कमा लाग्ने भएको हो । विद्यालयमा विद्यार्थीहरुको पढाइ प्रभावित नहोस भनेर नगरपालिकाको निर्णयलाई समेत मध्यनजर गरी बसपार्कमा मेलाको लगाउने तयारी गरिएको आयोजकको भनाई छ ।
राजा विरेन्द्रको जन्मोत्सवको अवसरमा लाग्ने गरेको मेला पछिल्लो समय रमाईलो मेला तथा जाजरकोट महोत्सवको रुपमा समेत मनाउने गरेको पाइन्छ । यस वर्षपनि मेलाको अवसरमा महोत्सवको लगाउने तयारी गरिएको भएपनि ठाउँ अभावका कारण सम्भव नभएको सरोेकारवाला निकायहरुले बताएका छन ।
रमाइलो मेलामा जिल्लाका अधिकांश ठाउँसहित रुकुम पूर्व पश्चिम, सल्यान, सुर्खेत लगायतका छिमेकी जिल्लाहरुबाट समेत ठुलो संख्यामा मानिसहरु मेला भर्न आउने गरेका छन ।





