जाजरकोट । भेरी नगरपालिकाले “श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तरगत आफ्नै पौरख आफ्नै गौरव सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रोजगार संयोजक भरत कुमार शर्माले “श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तरगत आफ्नै पौरख आफ्नै गौरव सम्बन्धि कार्यक्रमको अवधारणा, उद्देश्य र आवश्यकताका बारेमा प्रस्तुति राखेका थिए ।
नगर उपप्रमुख सीता जैसीको अध्यक्षता तथा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधिहरू सहित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्थानीय स्तरमा रोजगारी प्रवर्द्धनका विषयमा बृहत छलफल भएको थियो ।
स्थानीय सरकार र साझेदार संघ संस्थाहरूले गर्ने हरेक क्रियाकलापहरूमा रोजगारीको विषयलाई प्राथमिकता दिनु पर्ने सहभागीहरूको जोड रहेको थियो ।
साथै भेरी नगरपालिकामा रोजगार सम्बाद मञ्च समेत गठन भएको छ । नगर प्रमुख चन्द्रप्रकाश घर्तीको संयोजकत्वमा १३ सदस्यीय सम्बाद मञ्च गठन भएको हो । नगर उपप्रमुख, आर्थिक र सामाजिक विकास समितिका संयोजक, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग, पत्रकार, नागरिक समाज लगायतका संघ संस्थाहरूबाट सदस्य र रोजगार संयोजक सदस्य सचिव रहने गरी मञ्चको गठन भएको रोजगार संयोजक भरत कुमार शर्माले जानकारी दिए ।




