जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१० आलि स्थित छिन्चु–जाजरकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
सोमबार बिहान करिब ७ ४५ बजे फेराबजारबाट छेडा बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००२ त ०६०७ नम्बरको ट्याक्टर सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खसेको हो ।
दुर्घटनामा परेर भेरी नगरपालिका ९ का १९ वर्षीय चालक धन बहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिए ।
ट्याक्टरमा सवार भेरी नगरपालिका ७ निवासी १५ वर्षीय विरेन्द्र परियार घाइते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
उता, जाजरकोटको नलगाड नगरपालिका-४ गाडेखोलामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब १०:३० बजे नलगाड नगरपालिका ७ चामाखेत बस्ने २२ वर्षीय शिशिर चन्द पोलमा चढेर तार मर्मत गरिरहेका बेला करेन्ट लागेर पोलमै झुण्डिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ ।
उनको शवको उद्वार गरि पोष्टमार्टमका लागि नगर अस्पताल दल्लीमा ल्याईएको प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । शिशिर चन्द ज्यालादारीमा कार्यरत मजदुर रहेको प्रहरी निरीक्षक चन्दले बताए ।




