Karnali Aawaj

Advertisement
Advertisement

स्टालिन र माओको बिचमा के विवाद थियो ?

Advertisement
* माेहनविक्रम सिंह
स्टालिन जीवित हुँदा पनि स्टालिन र माओका बिचमा कैयौँ प्रश्नहरूमा मतभेदहरू थिए । तर त्यस प्रकारका मतभेदहरू मुख्यतः तात्कालिक राजनीतिक र व्यावहारिक पक्षहरूसित सम्बन्धित थिए र त्यस्ता कतिपय प्रश्नहरूमा माओका विचारहरू सही थिए भनेर स्टालिनले पनि स्वीकार गरेका छन् तर माओद्वारा स्टालिनका बारेमा सैद्धान्तिक आलोचना १९५६ मा देखा पर्‍यो । त्यस बेला उनले आफ्नो एउटा रचनामा “स्टालिनमा अभिभूतवादको पर्याप्त अंश थियो” भनेर आलोचना गरे । त्यो आलोचनाबारे माओले त्यो बेला र पछि कुनै विश्लेषण र व्याख्या प्रस्तुत छैनन् र यसबारे अत्यन्त सङ्क्षिप्तमा नै आफ्नो विचार प्रकट गरेको पाइन्छ ।
यसबारे उनले लेख्दछन् ः “स्टालिनमा अभिभूतवादको केही अंश थियो र उनले धेरै मानिसहरूलाई अभिभूतवाद सिकाए ।” माओको तर्क अनुसार स्टालिनले उनको आफ्नो पुस्तक “सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बो.)को इतिहासमा विरोधी तत्त्वहरूको सङ्घर्ष र एकताका बिचमा सम्बन्ध देख्न असफल छन्” र द्वन्द्ववादमा आधारभूत नियमका “ठाउँमा द्वन्द्ववादका ४ वटा प्रमुख विशेषताहरू” बताए । तीनै अभिभूतवादको पर्याप्त अंशका पछाडिका कारण थिए ।
त्यस सन्दर्भमा माओले अगाडि लेखेका छन्, “एंगेल्सले द्वन्द्ववादका ३ वटा विशेषताहरूको कुरा गरेका छन् । तर जहाँसम्म मेरो सम्बन्ध छ, मैले अर्का २ वटामाथि विश्वास गर्दिन ………. मात्राको गुणमा एक अर्कामा परिवर्तन विरोधी तत्त्वहरूका बिचमा एकता नै हो । निषेधको निषेध अस्तित्वमा नै छैन ।” लेनिनले पनि एंङ्गेल्सको बारेमा यो टिप्पणी गरेका छन् । “एङ्गेल्सले विरोधी तत्त्वहरूका बिचको एकता” को प्रश्नमा बढी बढ्ता ध्यान दिन नसकेको कुरा बताएका छन् । यस सन्दर्भमा यो उल्लेखनीय छ की मार्क्सवाद–लेनिनवादका संस्थापकहरू–मार्क्स, एङ्गेल्स र लेनिनले पनि द्वन्द्ववादका कैयौँ विशेषताहरू चर्चा गरेका छन् र कसैले पनि द्वन्द्ववादको कुनै एउटा नियमको किटान गरेका छैनन् । लेनिनले हेगेलको ‘तर्क विज्ञान’को अध्ययनका सिलसिलामा पनि द्वन्द्वात्मक ३ वटा नियमहरूको चर्चा गरेका छन् र पुनः द्वन्द्वात्मक २ वटा विशेषताको चर्चा गरेका छन् ।
यस सिलसिलामा उनले मात्रात्मक र गुणात्मक परिवर्तन र निषेधको निषेध नियमको पनि चर्चा गरेका छन् । यहाँ उनले लेखेका छन्, “सङ्क्षिप्तमा परस्पर विरोधी तत्त्वहरूका बिचको एकतालाई द्वन्द्ववादका मुख्य नियम भन्न सकिन्छ” तर त्यस प्रकारको विचार प्रकट गर्ने सिलसिलामा प्रयोग गरेका शब्दहरू “सङ्क्षिप्तमा तथा…. भन्न सकिन्छ” बाट कुनै नियमलाई किटानीपूर्वक द्वन्द्ववादको एउटा वा आधारभूत नियम बलाइएको पाइँदैन । लेनिनले आफ्नो कृति “मार्क्स र उनका शिक्षाहरू”मा मार्क्स एङ्गेल्सले द्वन्द्वात्मक कैयौँ नियम वा विशेषताहरूको चर्चा गरेको बताएका छन् । स्वयं लेनिनले पनि आफ्ना लेखमा द्वन्द्वात्मक कैयौँ नियमहरूको चर्चा गरेका छन्, जसमा निषेधको निषेध, मात्रात्मक र गुणात्मक परिवर्तनका नियमहरू पनि सामेल छन् । अर्कातिर विरोधी तत्त्वहरूका बिचको एकताका नियमहरूको कुनै चर्चा गरिएको छैन । त्यसरी मार्क्सवाद–लेनिनवादका संस्थापकहरूले पनि द्वन्द्वात्मक कैयौँ नियम र विशेषताहरूको चर्चा गरेको देखिन्छ र स्टालिनले लेनिनवादी परम्पराको अनुसरण गरेका छन् । स्वयं माओले, एङ्गे्ल्सले द्वन्द्ववादका तीन वटा नियमहरूको चर्चा गरेको कुरा बताएका छन् । तर त्यसका लागि उनले (माओले) एंङेल्समा अभिभूतवादको कुनै अंश भएको कुरा बताएका छैनन् । त्यो पृष्ठभूमिमा स्टालिनका विरुद्ध “अभिभूतवादको प्रशस्त अंश” भएको आलोचनामा कुनै औचित्य देखिन्न ।
स्टालिनले सोभियत सङ्घमा उत्पादनका साधनहरूको सामाजिक रूपान्तर तथा पुराना प्रकारका शोषक वर्गहरूको अन्तपछि नयाँ उत्पन्न पुँजीपति वर्ग, शत्रुतापूर्ण अन्तर्विरोध, वर्ग–सङ्घर्षको आवश्यकता वा संरचनाका विरुद्धको सङ्घर्षको महत्वलाई ठिकसित बुझ्न सकेनन् । ती उनका कमजोरीहरू थिए । तर तिनीहरूलाई उनको दार्शनिक चिन्तनमा “अभिभूतवादको पर्याप्त अंश”को प्रमाणका रूपमा लिनु सही होइन ।
माओले आफ्नो रचनामा सोभियत सङ्घमा आफ्नो दार्शनिक चिन्तनमा भएका गल्ती कमजोरीहरूका कारणले “केही मानिसहरूले राजनीतिक गल्तीहरू” गरेको कुरा बताएका छन् । तर त्यस प्रकारको गल्ती कसले गर्‍यो ? ती गल्तीहरू के थिए ? त्यसका बारेमा उनले केही लेखेको पाइन्न । पछि पनि त्यसबारे कुनै व्याख्या प्रस्तुत गरेका छैनन् । सन् १९६० तिर सोभियत अर्थ व्यवस्थासित सम्बन्धित कतिपय आलोचनात्मक रचनाहरू जो पुस्तककारमा सोभियत अर्थतन्त्रको आलोचनामा प्रकाशित भएका छन्, स्टालिनको कृति– रुसमा समाजवादका आर्थिक समस्याहरू तथा रुसमा राजनीतिक अर्थशास्त्रका कतिपय पाठ्यपुस्तकहरूमा प्रकाशित गरिएका विचारहरूको आलोचना गरेका छन् । तर माओका ती रचनाहरू पढ्दा उनले (माओले) सोभियत सङ्घमा नयाँ पुँजीपति वर्गको विकास, शत्रुतापूर्ण अन्तर्विरोध वा वर्ग सङ्घर्षबारे स्टालिनले व्यक्त गरेका गलत विचारहरूका ठाउँमा कुनै सही विचार प्रकट गरेको पाइन्न र मूल रूपमा उनी(माओ) पनि यो कुरामा सहमत भएका छन् कि रुसमा समाजवादी व्यवस्थालाई खतम पार्ने प्रयत्न गर्ने कुनै वर्ग थिएन । त्यहाँ शत्रुतापूर्ण अन्तर्विरोधहरू थिएनन् । त्यसै गरेर त्यहाँ मजदुर र पुँजीपति बिचको वर्गसङ्घर्षबारे पनि माओले कुनै उल्लेख गरेको पाइन्न ।
यसरी ती विषयहरूमा उनले (माओ) पनि सही सैद्धान्तिक मान्यता अपनाइको पाइन्न । अर्का शब्दमा स्टालिनका त्यस प्रकारका सोचाइहरूमा जुन प्रकारका कमजोरीहरू थिए, ठिक त्यही प्रकारका गलत सोचाइहरू माओमा पनि पाइन्छन् । अझ त्यस कारणले यस सम्बन्धमा माओको गल्ती स्टालिनको भन्दा बढी गम्भीर बन्न जान्छ कि माओले रुसमा खुश्चेवको गद्दार गुटले सत्ता कब्जा गरिसकेपछि र बिसौँ पार्टी काङ्ग्रेसपछि पनि त्यस प्रकारका विचारहरू प्रकट गरेका थिए जबकि स्टालिनले रुसमा अझै समाजवादी व्यवस्था छँदै त्यस प्रकारका विचारहरू प्रकट गरेका थिए । त्यति मात्र होइन, माओले चीनको क्रान्तिपछि लेखेको आफ्नो पुस्तक, “जनताका बिच अन्तर्विरोध हरूको सही सञ्चालन कसरी गर्ने भन्ने पुस्तकमा मजदुर वर्ग र पुँजीपति वर्गका बिचको अन्तर्विरोध स्वभावतः शत्रुतापूर्ण हुने भए पनि चीनको परिस्थितिमा ती अन्तर्विरोधलाई सही प्रकारले सञ्चालन गरिएमा त्यो अन्तर्विरोधलाई मैत्रीपूर्ण अन्तर्विरोधका रूपमा बदल्न सकिन्छ भन्ने विचार प्रकट गरेका छन् तर चीनको अनुभवले त्यो विचारलाई गलत साबित गर्‍यो र चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बेलामा माओले चीनका पुँजीपति वर्ग र वर्ग सङ्घर्षप्रति अपनाएको विचार पहिलेका विचार (चीनका मजदुर वर्ग र पुँजीपति वर्गका बिचको अन्तर्विरोधलाई मैत्रीपूर्ण रूपमा बदल्न सकिने सम्भावना भएको विचारमा) गुणात्मक छलाङ थियो । तर माओको सन् १९६० तिर रुसका स्थिति वा चीनका सन्दर्भमा प्रकट गरेका ती विचारका आधारमा माओको चिन्तनमा अभिभूतवादको अंश थियो भन्ने निष्कर्ष निकाल्नु सही हुन्न । वास्तवमा ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अनुसार ज्ञान निम्न स्तरबाट उच्चस्तरमा विकास हुँदै जान्छ र यस प्रकारको विकासका दौरानमा कैयौँ गल्तीहरू हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
त्यस प्रकारको कुरा हामी मार्क्स, एग्ङेल्स वा लेनिन सबैमा देखेका छौ । तर त्यस कारणले उनीहरूमध्ये कसैको सोचाइमा अभिभूतवादको कुनै अंश थियो भन्न मिल्दैन । स्वयं चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको दौरानमा पनि “मध्य पन्थी अवसरवाद अर्थात् चाउ एनलाई हुवाको फेङ आदिका विरुद्धको सङ्घर्षमा देखाइएका कमजोरी हाम्रो अगाडि छन् । त्यस कारणले माओको सोचाइमा अभिभूतवादको अंश थियो भन्न मिल्दैन । ठिक त्यही कुरा स्टालिनको सन्दर्भमा पनि सत्य हो ।
मार्क्स, एङ्गेल्स वा लेनिनले आफ्ना लेखहरूमा यो बताएका छन् कि द्वन्द्वात्मक नियमहरू, प्रकृति, समाज वा मानव चिन्तनमा भएको द्वन्द्वात्मक र समाजको इतिहासबाट नै लिइएका हुन् र ती ऐतिहासिक विकासका यी दुई पक्षहरूका नियमहरू भन्दा बढी केही होइनन् । त्यसैले लेनिनले आफ्नो रचनाहरूमा द्वन्द्ववादको नियमहरूमा जोड दिनुभन्दा सामाजिक मान्यताहरूप्रति द्वन्द्वात्मक दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा मुख्य जोड दिएका छन् । त्यसैले स्टालिनको दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी थियो वा पर्याप्त अंशमा अधिभूतवादी ? त्यो कुराको निरूपण, स्टालिनले सामाजिक समस्या र घटनाहरूप्रति सम्पूर्ण रूपले अपनाएको दृष्टिकोणका आधारमा छुट्टाउन पर्दछ सम्पूर्ण रूपले हेर्दा स्टालिनले मार्क्स–एङ्गेल्स वा लेनिनले जति दार्शनिक प्रश्नहरूको बढी विवेचना गरेको पाइन्न तर कसैको दृष्टिकोणमा द्वन्द्वात्मक छ वा छैन ? सो कुरा कसैले दार्शनिक पक्षको कति विचार वा चर्चा गरेका छन् भन्ने आधारमा होइन, उनले अपनाएको विश्व दृष्टिकोणको समताका आधारमा नै मूल्याङ्कन गर्नुपर्दछ ।
त्यसरी हेर्दा हामीले स्टालिनको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबारे कुनै शङ्का गर्ने ठाउँ छैन । यो कुरा बताइरहनुपर्ने आवश्यकता छैन कि लेनिनको मृत्युपछि सोभियत सङ्घमा समाजवादको निर्माण, विश्वव्यापी रूपमा समाजवादको विकास, विश्व कम्युनिस्ट आन्दोलनको विस्तार फासिस्ट युद्धमा विजय तथा नयाँ परिस्थितिमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तहरूको उच्चस्तरमा विकास उनको द्वन्द्वात्मक दृष्टिकोणको अभावमा सम्भव हुने थिएन । त्यस कारण स्टालिनमाथि “अभिभूतवादको पर्याप्त छ” भन्ने आलोचना आधारहीन देखिन्छ र त्यसले वस्तुस्थितिसित मेल खान्न । त्यस कारण हाम्रो पार्टीले स्टालिनका विरुद्ध लगाइएको त्यस प्रकारको आलोचनालाई गलत ठान्दछ र अस्वीकार गर्दछ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search