जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा) को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो ।
फिनल्याण्ड सरकार, नेपाल सरकार, युरोपियन युनियन र भेरी नगरपालिकाको साझेदारीमा संचालित सुस्वा परियोजनाले सुरक्षित र व्यवस्थित फोहर व्यवस्थापन गर्न पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी अभिमुखीकरण संचालन गरेको नगरपालिकाका वास संयोजक कृष्ण बहादुर नेपालीले जानकारी दिए ।
दैनिक उत्सर्जन हुने फोहर घुमिफिरी मानव मुखमा प्रवेश गर्नबाट रोक्न सुरक्षित र व्यवस्थित फोहर व्यवस्थापनको आवश्यकता रहेको अभिमुखीकरणका सहजकर्ता राजु चौधरीले बताए । जनप्रतिनीधि, विषयगत शाखा प्रमुख, वन उपभोक्ता समुहका प्रतिनीधिहरु सहितको सहभागितामा संचालित अभिमुखीकरणमा मानव मलमुत्रजन्य फोहर सुरक्षित र व्यवस्थित व्यवस्थापनबाट अर्गानिक कृषि उत्पादनमा मद्दत पुग्नुका साथै बायुग्याँस उत्पादन गर्न सकिने वास सल्लाहकार चौधरीले जानकारी दिए ।
गोप्य, सुरक्षित शौचालयमा आरामदायी सौच, सेप्टी ट्याङ्कीबाट सुरक्षित र व्यवस्थित तरिकाले लेदो ट्याङ्करमा लोड, सुरक्षित र सेप्टी टंकीदेखि टिटमेन्ट पलान्टसम्म व्यवस्थित ढुवानी, टिटमेन्ट पलान्टमा सुरक्षित र व्यवस्थित प्रोसेसिंग र जैविक मल फर्मिङ्ग तथा विर्सजन गर्नुनै सरसफाइ श्रृङखला भएको उनको भनाई छ ।
सरसफाइ सम्बन्धी संविधान र कानुनी व्यवस्था र भेरी नगरपालिकाले निर्माण गरेको पूर्ण सरसफाई कार्ययोजनाका विषयमा सुस्वा परियोजनाका फोकल पर्सन दिप बहादुर वलीले सहजीकरण गरेका थिए भने, लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धी अन्य ठाउँमा गरिएको अभ्यास र भेरी नगरपालिकाको अवस्थाका विषयमा परियोजनाका सल्लाहकार नन्द बहादुर धरालाले सहजीकरण गरेका थिए ।




