Karnali Aawaj

Advertisement
Advertisement

३५ वर्षपछि कर्णालीको विद्युत् लाइन स्तरोन्नति गरिँदै

Advertisement

सुर्खेत । २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमार्फत १२ मेगावाट बिजुली सुर्खेत पुर्‍याएको थियो । त्यसयता कर्णालीको राष्ट्रिय प्रसारण लाइनमा एक मेगावाट पनि थप नगरी डोल्पासम्म विद्युत् विस्तार भएको छ । करिब ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत् पहुँच पुगेको कर्णालीका बस्तीमा बिजुलीको निरन्तरता नभएर गुणस्तर निकै कमजोर छ ।

विकास र समृद्धिका ठुल्ठूला चर्चा भए पनि न्यूनतम आधारभूत सुविधा मानिएको विद्युत् प्रसारण लाइन कर्णालीवासीका लागि ३५ वर्षदेखि स्तरोन्नति हुन सकेको छैन । कर्णालीका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । प्रदेशमा प्राधिकरणका १ लाख १४ हजार ३ सय ग्राहकमध्ये ६२ हजार ६ सय घरायसी ग्राहकले निःशुल्क २० युनिटसम्म विद्युत् उपभोग गरिरहेका छन् । यस्ता ग्राहकले न्यूनतम मासिक ३० रुपैयाँ भने तिर्नुपर्छ ।

प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत् पुग्न सकेको छैन । नगरपालिका र गाउँपालिकाका कुल ७१८ वडामध्ये विद्युत् पुगेको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णालीका ३९३ वडामा विद्युतीकरणमा ढिलाइ भए पनि दुई वर्षभित्र सबै घरधुरीमा पुर्‍याउने गरी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए ।

३३ केभी क्षमताको ३५ वर्ष पुरानो प्रसारण लाइनबाटै राजधानी सुर्खेतलगायत प्रदेशका जिल्लामा अहिलेसम्म विद्युत् सेवा चलिरहेको छ । ३३ केभी प्रसारण लाइनको दूरी करिब ६० किलोमिटर छ । ५० किलोमिटर भन्दा लामो दूरीमा सबस्टेसन भएका कारण विद्युत्को गुणस्तरमा यसै पनि ह्रास आई ‘लो भोल्टेज’ हुने समस्या हुने प्राधिकरणका इन्जिनियर तथा सूचना अधिकारी रितेश जयसवालको भनाइ छ । सामान्यतः विद्युत् लाइनमा २३० भोल्टेज विद्युत् हुनुपर्ने उनले बताए । सुर्खेतसम्म पुगुन्जेल वितरण हुने विद्युत् लाइनमा १७०र१८० भोल्ट मात्रै हुन्छ । ‘लो भोल्टेज’ का कारण एसीजस्ता उपकरण चलाउन पनि छुट्टै स्टेप्लाइजर राख्नुपर्छ । घर, होटल, कार्यालयपिच्छे इन्भर्टर प्रयोग गर्दा विद्युत् खपत झनै बढ्ने जयसवालले जनाए ।

कोहलपुर सबस्टेसनबाट बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै यो लाइन सुर्खेत पुर्‍याइएको छ । जंगल क्षेत्रमा निर्माण गरिएका उचाइ कम भएका पोलहरू भएका कारण हावाहुरी चल्दा र रुख ढल्ला विद्युत् लाइन फल्ट भई पटक–पटक सेवा अवरुद्ध हुने समस्या छ । कर्णालीका बासिन्दा बारम्बार विद्युत् जाँदा जति हैरान छन्, त्योभन्दा बढी त भोल्टेज नपुगेर हैरान हुने गरेको दैलेख रोड चोकस्थित अशोका होटलका सञ्चालक चिन्तामणि कँडेलले बताए । ‘विद्युत् प्रसारणमा हुने अनियमितताका कारण जेनेरेटर चलाउनुपर्छ । विद्युत्को महसुलभन्दा डिजलबाट जेनेरेटर चलाउँदा झन् धेरै खर्च हुने गरेको छ,’ कँडेलले भने ।

प्राधिकरणले ०४६ सालदेखि नै सुर्खेतमा १३२ केभी विद्युत्लाई विस्तार गर्ने योजना बनाएको थियो । ०६७ सालदेखि डीपीआर र वातावरणीय अध्ययन गरी आयोजनाको काम अघि बढाएको थियो । कर्णालीको विद्युत् सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले कोहलपुरदेखि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र हुँदै सुर्खेतसम्म निर्माण गर्न लागिएको १३२ केभी प्रसारण लाइनको निर्माण सुरु भए पनि एकपछि अर्को अवरोध देखिएको देखापरेको छ । निर्माण गर्न लागिएको लाइन कोहलपुर सबस्टेसनबाट सुरु भई वीरेन्द्रनगरका सबस्टेसनमा गएर टुंगिनेछ ।

डबल सर्किटको प्रसारण लाइन करिब ५१ किलोमिटरको हुनेछ । २५० मेगावाट विद्युत् ओहोरदोहोर गर्न सक्ने क्षमताको प्रसारण लाइन बनाउन १ सय ६२ वटा टावर निर्माण गर्न लागिएको हो । विद्युत्का दुईवटा टावरको दूरी सामान्यतया ३५० मिटर हुन्छ । ३० देखि ३५ मिटर अग्लो टावर निर्माण २० वाई २० फुट जग्गामा गरिएको छ । प्रसारण लाइनको दायाँ–बायाँ ९र९ मिटर खुला क्षेत्र आवश्यक पर्छ । प्रसारण लाइनको रुट कोहलपुर सबस्टेसनदेखि बाँकेको बैजनाथ–४ बनियाँभार र गाभर क्षेत्र हुँदै बर्दिया राष्ट्रिय निकुञ्जको जंगलतर्फ लगिएको छ । स्थानीयले विभिन्न विकल्प हुँदाहुँदै आफूहरूको सहमति बेगर आफ्नो बस्तीको बीचबाट प्रसारण लाइन निर्माण गरिँदा विस्थापित हुनुपर्ने जोखिम बढ्ने जनाउँदै पटक–पटक अवरोध गर्दै आएका छन् ।

प्रसारण लाइन निर्माण हुँदा त्यस क्षेत्रमा घडेरीका रूपमा एकरदुई कठ्ठा मात्रै जग्गा भएका स्थानीय गाउँबाटै विस्थापित हुने अवस्था भएकोले लिएको मुआब्जा रकमले परिवारको गुजारा गर्ने जग्गा खरिद गर्न पनि नपुग्ने बैजनाथ–४ बाँनयिाभार बोर्डिङ टोलका ज्ञानबहादुर वलीले जनाए । डीपीआर गर्दा कुनै सावर्जनिक सुनुवाइ नगरिएको, नाप्ने बेला खानेपानी योजना भनेर स्थानीयलाई झुक्याइएको भन्दै विभिन्न विकल्पबाट निर्माणका लागि प्राधिकरणलाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय सनतकुमार शर्माको भनाइ छ ।

प्रसारण लाइन निर्माण हुने क्षेत्रमा एउटा घडेरीलाई २५र३० लाख रुपैयाँ पर्छ । लाइनको दायाँबायाँ ९र९ मिटर क्षेत्रको जग्गाको सरकारी मूल्यांकनका आधारमा प्राधिकरणले २० देखि २५ प्रतिशत मात्रै मुआब्जा दिन्छ । त्यति मुआब्जाले अन्यत्र घडेरी किन्न पुग्दैन । जग्गा धेरै हुने मान्छेलाई प्रसारण लाइनको मुनि खेती गर्न मिल्ने भए पनि जग्गाको स्वरुप बिग्रने बैंक तथा वित्तीय संस्थाले त्यस्तो जग्गाको कम मूल्यांकन गर्ने, ऋण पनि नदिने जस्ता समस्याले हामीलाई जग्गा प्रदान गर्दा उठीबास लाग्ने अर्का पीडित टंकप्रसाद शर्माको भनाइ छ । यसरी बस्तीको बीचबाट प्रसारण लाइन नबनाउन जनप्रतिनिधि, विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रीलगायतलाई भेटेर पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीय गुनासो गर्छन् ।

प्राधिकरण र सरकारलाई जनताभन्दा निकुञ्जको जंगल प्यारो भएका कारण समस्या उत्पन्न भएको प्रसारण लाइन प्रभावित संघर्ष समितिका संयोजक पुनित विक्रम शाह बताउँछन् । ‘बस्तीको बीचबाट प्रसारण नभई जंगलको किनाराबाट बनाउन यस क्षेत्रका जनप्रतिनिधि, विद्युत् आयोजनाका कर्मचारी, प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन,’ उनले भने ।

वातावरणीय अध्ययन गरेर निकुञ्ज क्षेत्रको रूख काट्ने चरणसम्म पुग्न तीन वर्ष लागेको र प्रसारण लाइन निर्माणको रुट परिवर्तन गर्दा पुनः सुरुदेखि नै वातावरणीय अध्ययन गरेर सबै प्रक्रिया पूरा गर्न थप २र३ वर्ष लाग्ने जनाउँदै प्राधिकरणले प्रसारण लाइनको रुट परिवर्तन गर्न नसकिने अडान लिँदै आएको छ । एउटा आयोजनामा रुट परिवर्तन गर्दा देशैभर यस्तै माग उठेर प्रसारण लाइन बनाउनै नसक्ने अवस्था सिर्जना हुने तर्क प्राधिकरणको छ । बस्तीमा मात्रै नभएर प्रसारण लाइन निर्माण हुने क्षेत्रमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको जंगल परेकाले निकुञ्जसँग समन्वय गरेर टावर निर्माण हुने जमिन लिन र प्रसारण लाइनमा पर्ने रूख कटान गर्ने चरणसम्म पुग्न पनि प्राधिकरणलाई हम्मेहम्मे परेको छ । तीन वर्षदेखि प्रक्रिया पूरा गर्दै निरन्तर लागि पर्दा पनि आयोजनाले बाँके राष्ट्रिय निकुञ्जमा २ हजार ९ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका ३ हजार ३ सय २० गरी ६ हजार २ सय ३६ रूख काट्ने आदेश अझै पाइसकेको छैन ।

०७९ असार १५ मा बसेको मन्त्रिपरिषद् बैठकले निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान गर्न अनुमति दिएपछि पनि प्रक्रिया सुरु भएको छैन । प्रक्रिया पूरा गर्दै काट्नुपर्ने भएकोले रुखको छपान गर्ने काम अझै सकिएको छैन । छपानपछि प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा पुगिसकेका कारण जेठ महिनाभित्रै रुख काट्ने आदेश मिल्ने सम्भावना रहेको आयोजनाका कोहलपुर–सुर्खेत–दैलेख प्रसारण आयोजनाका लिन सुवेदीले बताए । ६ महिनाभित्र रुख काट्ने गरी ठेक्का भइसकेका कारण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट आदेश पाउनासाथ रूख काट्ने काम सुरु गर्ने तयारी आयोजनाको छ । तर निकुञ्जमा जेठ १५ देखि असोज १५ सम्म प्रवेश गर्न र रुखबिरुवा काट्न पाइँदैन । पहिले नै अनुमति पाइसकेकाले त्यो अवधिमा रुख काट्न पाइने सम्भावना भने रहेको इन्जिनियर जयसवालको भनाइ छ ।

निकुञ्ज क्षेत्रभित्र ३० देखि ३५ मिटर अग्ला ८० वटा टावर निर्माण गर्नुपर्नेमा सुर्खेतदेखि हर्रेसम्म रुख नभएको क्षेत्रमा २२ किलोमिटर क्षेत्रमा टावर निर्माण भएर तार पनि तानेको छ । आयोजना निर्माणका लागि ७० करोड रुपैयाँमा भारतीय कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले ०७६ असार २२ मा ठेक्का लिएको थियो । सम्झौता मितिले दुई वर्षभित्र कम्पनीले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायतका सम्पूर्ण काम गरिसक्नुपर्ने थियो ।

तर कम्पनीले विभिन्न कारण देखाउँदै ०७७ भदौदेखि मात्रै काम सुरु गरेको थियो । बिनाअवरोध काम सञ्चालन भएको भए ०७९ भदौसम्म आयोजनाको काम सम्पन्न भइसक्थ्यो । तर एकपछि अर्को अवरोधका कारण म्याद थप गरेर ०८० चैतसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । थपेको म्याद सकिँदा पनि करिब ३० प्रतिशत काम बाँकी छ । फेरि म्याद थप गरेर आयोजनाको काम अघि बढाउने तयारी भइरहेको छ । हालसम्म आयोजनाले १०५ फाउन्डेसन निर्माण गरेको छ । बाँकी १० वटा फाउन्डेसन निर्माण भइरहेका छन् । यस्तै, २२ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सब–स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको करिब ४२ हेक्टर अर्थात् ६२ बिघा जग्गा ओगट्छ । निकुञ्जको प्रयोग भएको जग्गाको शोध भर्ना गर्नका लागि आयोजनाले निकुञ्जसँग जोडिएको बर्दियाको गेरुवामा ९ करोडमा ६२ बिघा जग्गा किनेर रुख हुर्काउने तयारी गरिरहेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा एउटा रूख काटेबापत २५ वटा रुख रोपेर ५ वर्षसम्म हुर्काएर जमिनसहित निकुञ्जलाई बुझाउनुपर्ने कानुनी प्रावधान छ । त्यसैगरी राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरी त्यहाँ रहेका रुख काटेको अवस्थामा एउटाबापत १० रुख रोपेर पाँच वर्ष हुर्काएर जग्गासहित बुझाउनुपर्ने प्रावधान छ ।

जग्गा किनेर रुख हुर्काएर जग्गासहित बुझाउन नसकेको अवस्थामा त्यसबापत लाग्ने खर्चको मूल्यांकन गरेर सिधै वन विकास कोषमा जग्गा गर्न मिल्ने व्यवस्था गरिएको छ । आयोजनाले वन क्षेत्रको जग्गा र रुख काटेबापत गत वर्ष वन विकास कोषको खातामा करिब १२ करोड रकम जम्मा गरिसकेको छ । सरकारको विद्युत् उत्पादन बढाउने तर खपत वा बिक्रीका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान नदिने नीतिका कारण प्रसारण लाइन निर्माणमा समस्या देखिने गरेको बाँकेका प्रजिअ खगेन्द्र रिजाल बताउँछन् । विद्युत् आयोजना निर्माण गर्दा प्रभावितलाई सेयर दिने गरेजस्तै प्रसारण लाइन प्रभावितलाई पनि लाभ पुग्ने गरी सेयरलगायत अन्य सुविधा दिने नीतिगत व्यवस्था मिलाएर अवरोध हटाउन सकिने प्रजिअ रिजाल बताउँछन् ।

प्रसारण लाइनमा पर्ने जग्गाको एउटै वर्गीकरण हुँदा पनि समस्या पर्ने गरेको छ । प्रसारण लाइन बन्ने क्षेत्रको जग्गालाई अहिले एउटै वर्गीकरणमा राखिएका कारण पनि समस्या भएको हो । थोरै घडेरी मात्रै जग्गा भएका र घरघडेरी क्षेत्रमा नभई खेती गर्ने जग्गा गरी दुई वटा वर्गीकरणमा राखेर प्रभावित क्षेत्रका बासिन्दालाई मर्का नपर्ने गरी जग्गा अधिग्रहण, राहत र क्षतिपूर्ति दिने नीतिगत व्यवस्था मिलाउनुपर्नेमा त्यसो गरेको पाइँदैन । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search