Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

टी-२० विश्वकपमा नेपाल : फेरि पनि ब्याटिङमै समस्या

Advertisement

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक ब्याटिङ नेपालको पुरानै समस्या हो । अन्तिम समयमा ब्याटिङमा चिप्लिएकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अप्रत्याशित हार ब्यहोर्नु परेको छ । नेपाली क्रिकेटले विगतमा यस्ता नमिठा क्षण धेरैपटक ब्यहोरेको छ । यस्तै नियति नेपालले हाल वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणमा पनि भोग्नु पर्‍यो । यो विश्वकपमा नेपालले तीनवटा खेल खेल्यो । ती तीनवटै खेलमा कमजोर ब्याटिङ र खराब फिल्डिङ नै नेपाली टोलीको अप्रत्याशित हारको कारण बन्न पुग्यो ।

cricket nepal

समूहगत चरणमा नेपाल र श्रीलंकाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाली टोली १० वर्ष लामो प्रतीक्षापछि दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । यो उपलब्धि हासिल गर्न नेपालले लामो समय अनवरत सङ्घर्ष गर्नुपरेको थियो ।

 पुरानो उपलब्धि दोहोर्‍याउन पनि असफल

nepali

तर, नेपालले यो विश्वकपमा १० वर्षअघिको उपलब्धि पनि दोहोर्‍याउन सकेन । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकपमा सहभागी हुँदा नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्ड र यूएई रहेका थिए ।

दुबै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

cricket-nepal

यसैगरी समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङ्कङसँग दुई विकेटले पराजित भएको थियो ।

समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अंक थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो ।

त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट बञ्चित भएको थियो । त्यो विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनकै कारण नेपालले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आफूतिर तानेको थियो ।

nepali cricet

तर, १० वर्षपछि छनोट चरण पार गर्दै फेरि विश्वकप यात्रामा होमिएको नेपालले आफूलाई पुरानो उपलब्धिनजिक समेत पुर्याउन सकेन । ब्याटिङमा लगातार खराब प्रदर्शन नै यसको प्रमुख कारण बन्न पुग्यो । आफूले खेलेको तीनवटै खेलमा नेपालको ब्याटिङ निकै कमजोर रह्यो ।

जारी विश्वकपमा नेपालले तीनमध्ये एक खेलमा पहिले ब्याटिङ गर्‍यो भने बाँकी दुई खेलमा जवाफी ब्याटिङ गरेको थियो । जारी विश्वकपमा नेपालले बनाएको उच्च स्कोर एक सय १४ रन हो । पहिले ब्याटिङ गरेको खेलमा पनि नेपाल एक सय ६ रनभन्दा अगाडि बढ्न सकेको थिएन ।

नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल

nnnn

समूह ‘डी’ तालिकामा नेपाल समग्रमा पाँचौँ भयो । चारमध्ये एक खेलमा विजयी भएको नेदरल्यान्ड्स तालिकामा नेपालभन्दा अगाडि रह्यो । नेपाली टोली समूहगत चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने १८.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय नौ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालको ब्याटिङ र फिल्डिङ निराशाजनक थियो । महत्त्वपूर्ण क्षणमा नेपालले दुईवटा क्याच छाडेको थियो भने एउटा रन आउटको अवसर पनि खेर फालेको थियो । त्यो खेलमा कप्तान रोहित पौडेल बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् ।

रोहितले सर्वाधिक ३५ रन बनाएका थिए । नेपालको ओपनिङ जोडी पनि सस्तैमा पेभेलियन फर्किएको थियो । ओपनर कुशल भुर्तेल सात र आसिफ शेख चार रनमा आउट भएका थिए । ओपनर ब्याट्सम्यानले केवल १० रनको साझेदारी गरेका थिए ।

rohit-anil

कप्तान रोहितका अतिरिक्त अनिल साह (११ रन), गुलसन झा (१४ रन) र करण केसी (१७ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । नेपाली टोलीका सात ब्याट्सम्यान त अनावश्यक सट खेल्ने क्रममा क्याच आउट भएर मैदानबाट बाहिरिएका थिए ।

दुई ब्याट्सम्यान बोल्ड भएका थिए भने ओपनर कुशल भुर्तेल एलबीडब्लूको धरापमा परेका थिए । समग्रमा त्यो खेलमा तीव्र गतिका दक्षिण अफ्रिकी बलरको आक्रमणका अगाडि नेपाली ब्याट्सम्यानहरु निरीह बनेका थिए ।

त्यो खेलमा तुलनात्मक रूपमा नेपाली बलरहरुको प्रदर्शन उत्कृष्ट थियो । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक–एक विकेट लिएका थिए । नेदरल्यान्ड्सले विजयलक्ष्य पुरा गर्न १९औँ ओभरसम्म सङ्घर्ष गर्नु परेको थियो ।

kn

जबकि टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममै खेलिएको अमेरिका र क्यानडा तथा पाकिस्तान र अमेरिकाबिचको खेलमा उच्च स्कोर बनेको थियो । त्यही स्टेडियममा क्यानडाले दिएको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाविरुद्ध तेस्रो खेल

pani

नेपाल र श्रीलंकाबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दुबै टोलीले एक–एक अंक पाएका थिए । त्यसपछि नेपाली टोली आफ्नो तेस्रो खेलमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग केवल एक रनले पराजित भएको थियो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सकेको थियो । नेपाली टोलीका बलरको लगातारको आक्रमणसामु दक्षिण अफ्रिका ब्याट्सम्यान दबाबमा आएका थिए ।

‘पावर प्ले’ मै पनि दक्षिण अफ्रिकाले गतिलो संख्यामा रन बटुल्न सकेको थिएन । कुशल भुर्तेलले चार र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए । समग्रमा त्यो खेलमा नेपाली टोलीका बलरहरुको प्रदर्शन उत्कृष्ट थियो ।

kushal-dipendra

जबाफी ब्याटिङमा ओर्लिएको नेपालले पालीको सुरुआत पनि गतिलो गरेको थियो । लामो समयदेखि नचलेको नेपालको ओपनिङ जोडीले पनि ३५ रनको साझेदारी गरेको थियो । ओपनर आसिफ शेखले ४२ र कुशल भुर्तेलले १३ रन बनाएका थिए ।

यसका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान अनिल साहले पनि २७ रन बनाएका थिए । तर, यसअघिका खेलमा राम्रो प्रदर्शन गर्दै आएका कप्तान रोहित पौडेल यो खेलमा असफल देखिए । उनले खातासम्म खोल्न सकेनन् ।

अर्का अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि ब्याटिङमा जम्न सकेनन् । उनी ६ रन बनाउँदै पेभेलियन फर्किए । कुनै समय नेपाली टोलीलाई जितका लागि आवश्यक रनभन्दा खेल्न बाँकी बल निकै बढी रहेको अवस्थासम्म थियो ।

तर, यही हुँदा पनि नेपाल जितसम्म पुग्न सकेन । नेपाललाई अन्तिम एक बलमा जितका लागि केवल दुई रन आवश्यक थियो । तर, रन लिन दौडिएका नेपाली टोलीका ब्याट्सम्यान गुलसन झा दुर्भाग्यपूर्ण तरिकाले रन आउट हुन पुगे । त्यो रन पुरा भएको भए खेल ‘सुपर ओभर’ मा पुग्ने थियो ।

ns

समग्रमा अन्तर्राष्ट्रिय प्रतियोगिताको लामो अनुभव बटुलेका प्रभावशाली ब्याट्सम्यानहरुले सम्हालिएर खेल्न नसक्नु र त्यसपछि आएका ब्याट्सम्यानहरुले तनावपूर्ण अवस्थामा दबाबलाई उचित तरिकाले झेल्न नसक्नु नै उक्त खेलमा नेपालको हारको कारण बन्न पुग्यो ।

बंगलादेशविरुद्ध चौथो खेल

विश्वकपको नवौँ संस्करणमा नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्यो । बंगलादेशविरुद्धको खेलमा पनि नेपाली टोलीका बलरले आफ्नो धर्म निर्वाह गरे । तर, यो खेलमा पनि ब्याट्सम्यानको प्रदर्शन भने बिर्सनलायक नै रह्यो ।

sompal

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सक्यो । बलियो टेस्ट राष्ट्र बंगलादेशका लागि ‘सुपर–८’ चरणमा पुग्न यो खेलमा जितको विकल्प थिएन ।

nb

त्यसैले बंगलादेशी ब्याट्सम्यानले ठुलो स्कोर बनाउने सक्दो प्रयास गरेका थिए । तर, नेपाली बलरको धारिलो बलिङका कारण सुरुदेखि नै बंगलादेशी ब्याट्सम्यान दबाबमा परे । बंगलादेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

कुनै पनि बंगलादेशी ब्याट्सम्यानले १७ भन्दा बढी रन बनाउन सकेनन् । बंगलादेशले केवल ५२ रनको कुल स्कोरमै आफ्नो पाँच विकेट गुमाइसकेको थियो । नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले दुई–दुई विकेट लिए । बंगलादेशका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए ।

dipendra

सामान्य विजयलक्ष्य पछ्याएको नेपाली टोलीका ब्याट्सम्यान यो खेलमा पनि निरीह देखिए । नेपाली टोली १९.२ ओभरमा केवल ८५ रन बनाउँदै अलआउट हुन पुग्यो । बंगलादेशी टोलीले २१ रनले खेल जित्यो र ‘सुपर–८’ चरणमा स्थान पनि पक्का गर्‍यो ।

यो खेलमा पनि नेपालको ओपनिङ जोडीको प्रदर्शन निराशाजनक रह्यो । ओपनिङ जोडीले नौ रनको साझेदारी मात्र गर्‍यो । कुशल भुर्तेल केवल चार रन बनाउँदै पेभेलियन फर्किए । त्यसलगत्तै अनिल साह पनि खाता खोल्नुअघि नै आउट भए ।

kushal bhurtel

कप्तान रोहित पौडेल पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । ओपनर आसिफ शेख १७ रनको व्यक्तिगत स्कोरमा आउट भए । सन्दीप जोरा एक रन बनाउँदै पेभेलियन फर्किए । यसरी सातौँ ओभरको खेल सकिँदासम्म नेपालले केवल २६ रनमा पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो ।

माथिल्लो क्रममा ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शनपछि त्यसपछि आउने ब्याट्सम्यानहरु पनि दबाबमा परे । त्यसपछि छैटौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल र सातौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले गतिलो साझेदारी गर्दै केही आश जगाएका थिए ।

rohit

तर, ५२ रनको साझेदारी गर्दै कुशल मल्ल २७ रनमा आउट भएपछि नेपालको आश झिनो बन्न पुगेको थियो । लगत्तै क्रिज समाल्न आएका गुलसन झा पनि शून्य रनमै पेभेलियन फर्किए भने उनलाई पछ्याउँदै दीपेन्द्रसिंह ऐरी पनि २५ रनको व्यक्तिगत स्कोरमा आउट भए ।

nepal

नेपालका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । त्यसमध्ये सन्दीप लामिछाने अविजित रहेका थिए । नेपालका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । नेपाली ब्याट्सम्यानले कुल ७५ रन बनाए भने १० रन नेपालले अतिरिक्त रुपमा पाएको थियो । यसरी आफ्नो अन्तिम खेलमा पनि नेपाली टोली कमजोर ब्याटिङका कारण पराजय स्विकार्न बाध्य बन्यो ।

टी–२० मा सन्दीप र सय विकेट

sandeep2

जारी विश्वकपमा नेपालको सुरुको दुई खेल अमेरिकामा राखिएको थियो । अघिल्ला दुईमध्ये एक खेलमा नेपाल पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । अघिल्ला दुई खेलमा प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने नेपाली टोलीमा सहभागी थिएनन् ।

अमेरिकाले भिसा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेका कारण सन्दीप अमेरिका जान पाएका थिएनन् । तर, नेपालले जारी विश्वकपको पछिल्ला दुई खेल भने क्यारेबियन राष्ट्रमा खेल्यो । त्यसैले पछिल्ला दुवै खेलमा सन्दीपको पनि सहभागिता रह्यो ।

दुई खेलमात्र खेल्ने अवसर पाए पनि २३ वर्षीय सन्दीपका लागि यो विश्वकप उपलब्धिमूलक रह्यो । सन्दीपले यही विश्वकपमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोशेढुंगा पुरा गरे । दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले विकेट लिन सकेनन् । यद्यपि, त्यो खेलमा उनले निकै किफायती बलिङ गरेका थिए ।

Sandeep Lamichhane

दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको भए सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने बलरको कीर्तिमानसँग बराबरी गर्ने थिए । विश्वकपमा सहभागी हुनुअघि सन्दीपले ५२ खेल खेल्दै ९८ विकेट लिएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेल उनका लागि ५३औँ खेल थियो ।

तर, त्यो खेलमा उनले विकेट लिन सकेनन् र कीर्तिमान बनाउनबाट चुके । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने बलर अफगानिस्तानका रासिद खान हुन् । उनले पनि ५३ खेल खेल्दै एक सय विकेट लिएका थिए ।

sandeep

तर, जारी विश्वकपमा बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिँदै सन्दीपले एक सय विकेटको कोशेढुंगा पुरा गरे । तर, उनले रासिद खानले भन्दा एक खेल बढी खेलेर एक सय विकेट पुरा गरे । सन्दीपले ९९औँ विकेटका रूपमा बंगलादेशका तानजिम हसन सकिबलाई बोल्ड गरेका थिए । उनले एक सयौँ विकेटका रूपमा बंगलादेशी ब्याट्सम्यान जाकेर अलीलाई बोल्ड गरेका थिए ।

लामिछाने नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिने बलर पनि हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय १२ विकेट लिइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो । – रातोपाटी

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search