जाजरकोट । शुक्रबारदेखिको अविरल वर्षाले जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितको बेहाल भएको छ । गत कार्तिक १७ गते राति आएको भूकम्पले बस्ने घर भत्किएपछि अधिकांश भूकम्प पीडितहरु अस्थायी टहरामा बस्दै आएका थिए । ३ दिन देखि भारी वर्षाभएपछि टहराले छेक्न नसक्दा उनिहरुको भूकम्पले चर्काएकै घरमा सर्न बाध्य भएका छन ।
भूकम्पले चर्काएको घरहरुपनि लगातारको वर्षाले भत्किना थालेपनि उनिहरुको बिचल्ली भएको हो । ‘टहराभरि पानी चुहिएको छ, यहॉ त बस्नै समस्या भयो,’ जाजरकोटको भेरी नगरपालिका-१ का लालबहादुर महरले भने, ‘त्यसैले चर्किएको घरमा फेरि फर्कनुपर्यो, घरमा पनि भित्ताहरु चर्किएकै ठाउॅमा पानी परेर रसाउन थालेको छ, कुन दिन भत्किने हो भन्ने चिन्तै चिन्तामा बस्नुपरेको छ,’ नलगाड नगरपालिका-४ का हस्तबहादुर विकले टहरामा पानी चुहिएरै सुत्नै नसकिने अवस्था आएको बताए । ‘पुराना त्रिपाल टहराको छानामा टॉग्दा पनि पानीबाट ओतिन सकेनौ,’ उनले भने, ‘टहरा वरिपरिको जमिन भूकम्पले चिरैचिरा पारेको छ, अझै २र३ दिन लगातार वर्षा भए कुन दिन पहिरोले टहरा बगाउने हो भन्ने चिन्ताले रातदिन सताउछ ।’ रुकुम पश्चिमको आठवीसकोट नगरपालिका-१४ की कृष्णा विकले अस्थायी टहरोको टिनबाट पानी भित्र परेर कपडा र अन्नपात मुस्किल भएको बताइन् ।
अहिले अधिकांश भूकम्पपीडितहरुले वनजंगलको छेउमा, खोलाकिनारमा, बारीको छेउमा र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेका छन् । जसका कारण बाढीपहिरोको ठूलो जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश महासचिव नरबहादुर नेपालीले बताए । ‘चिसो र गर्मीमा त स्वास्थ्य समस्यामात्र देखियो,’ उनले भने, ‘अबकति अस्थायी टहरा बाढीपहिरोले बगाउने हो भन्नै सकिन्न ।’
भूगर्भविद् चन्दन गिरीले भूकम्पले प्रभाव परेका ठाउॅमा नयॉ पहिरोको जोखिम अत्यधिक रहेको बताए । उनका अनुसार अरु सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झण्डै ८० प्रतिशतले बढी हुन्छ । भूकम्पपछि उनी नेतृत्वको ५ जनाको टोलीले जाजरकोटको नलगाड, भेरी नगरपालिका र बारेकोट गाउॅपालिकामा केही गाउॅहरुमा अध्ययन गरेको थियो । जसमा विभिन्न बस्ती आसपासको जमिन फाटेको भेटिएको थियो ।
‘अब बर्खा सुरु भइसकेको छ, ती फाटेका ठाउॅहरुमा भूक्षय र ठूलो पहिरोको जोखिम छ,’ उनले भने, ‘त्यसले पनि ठूलो जनधनको क्षति हुने जोखिम देखियो ।’ कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् नियन्त्रण महाशाखा प्रमुख कृष्णबहादुर रोकायाले भूकम्पप्रभावित बस्तीहरुमा पहिरोको जोखिमबारे अध्ययन गरी पूर्वतयारी थालिएको दाबी गरे । उनका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको छ ।




