Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

धरापमा कर्णालीका झोलुंगे पुल

Advertisement

कालीकोट । गत जेठ २७ गते अछामको पञ्चदेवल विनायक-५ र दैलेखको आठवीस नगरपालिका-४ जोड्ने खिड्कीज्यूलास्थित कर्णाली नदी माथिको झोलुंगे पुलको एकातिरको लठ्ठा चुडिँदा १४ वटा खच्चड पुलमै अड्किए । बिहान ९ बजे लठ्ठा चुडिएको पुलबाट खच्चडको उद्धार गर्न ५ घण्टा समय लाग्यो ।

स्थानीय जोरे रोकामगर र राजेन्द्र बोहोराका १४ मध्ये २ खच्चड उद्धारका क्रममा मरे भने १२ घाइते अवस्थामा कर्णाली नदीमा खसालेर बचाइयो । ‘२१ वर्ष पुरानो जीर्ण पुल मर्मतमा न त स्थानीय सरकारले ध्यान दिए, न संघीय सरकारको नै आँखा गयो । पुलको लठ्ठा खिया लागेर जोखिममा रहेछ,’ खच्चड धनी राजेन्द्रले कान्तिपुरसँग भने, ‘एकै पटक धेरै वजन (तौल)) का खच्चड सँगै पुलमा हिडाउँदा दुर्घटना भयो ।’

कालीकोटको खाडाचक्र-४ बद्रिगाउँँ र शुभकालिका-४ चौलागाईवाडा जोड्ने तिला नदीमाथिको राराघाट झोलुंगे पुलमा स्थानीय जग दमाईको भैँसीको खुट्टा छिर्दा खुट्टा भाँचियो । ७५ हजारमा खरिद गरेर ल्याएको भैँसीको खुट्टा भाँचिएपछि ३ महिनासम्म नदी किनारामा भैँसी बाँधेर खुट्टा टेक्न मिल्ने भएपछि घर ल्याएको उनको गुनासो छ ।

०५८ को संकटकालमा मान्मबाट गएको सेनाको गस्तीले गाउँँमा दु:ख दिएको जनाउँदै माओवादीले रसायन प्रयोग गरी काटेर क्षतिग्रस्त बनाएको राराघाट झोलुंगे पुल ०६२/०६३ को जनआन्दोलनपछि दलीय भागबण्डाअनुसार बनेको उपभोक्ता समितिले नयाँ पुल निर्माणको जिम्मा लिए पनि गतिलो नबन्दा राराघाट पुल जीर्ण छ । त्यति बेलै लठ्ठा नपुगेर बीचमा गाँसेर पुल बनाइएको हो । शुभकालिका-४ का कर्णप्रसाद चौलागाँईले भने, ‘पुल निकै जीर्ण छ, जतिखेर पनि चुडिने जोखिम छ । सदरमुकाम मान्मबाट सुर्खेत, दैलेख जाने मुख्य पैदलमार्गबाट जाँदा राराघाट पुल तरेर जानुपर्थ्यो भने हाल शुभकालिका र खाडाचक्रका बासिन्दा ओहोर दोहोर गर्छन् ।’

खिड्कीजिउला र राराघाट मात्र होइन, कर्णाली र तिला नदीसहितका आसपासका खोलामा बनेका वर्षौ पुराना झोलुंगे पुल मर्मत सम्भारमा ध्यान नपुग्दा स्थानीयले जोखिमपूर्णरुपमा दैनिकी चलाइरहेका छन् ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले नदी र खोलामा बनाइएका झोलुंगे पुलभन्दा सडक पुलमा बढी जोड दिएकाले पनि झोलुंगे पुलको नियमित मर्मत सम्भार हुन नसकेको पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जीनियर लक्ष्मण प्रसाद पाण्डेले बताए ।

‘झोलुंगे पुलको मर्मत सम्भारसहितको काम स्थानीय तहले गर्ने भन्ने कार्यविधि छ,’ उनले भने, ‘त्यसतर्फ ध्यान दिएको पाइदैन ।’ उनले ०७९ मा बाढीले हानेर जीर्ण भएको जितेगडाको पुल पूर्वाधार कार्यालयले १० लाख खर्च गरेर मर्मत गरे पनि अन्य पुलको अवस्थाबारे पनि कार्यालयमा रेर्कड नभएको सुनाए । जिते गडाको पुलमा ६ महिनासम्म स्थानीयले पुलको बीचमा काठको भर्‍याङ जोडेर आवत जावत गर्ने बनाएका थिए ।

पूर्वाधार विकास कार्यालयमा पुराना बनेका पुलको तथ्यांक नभए पनि यस वर्ष पलाता, तिलागुफाको भैसेगौडा, नरहरिनाथको बड्डाखोला र पचालझरनाको भुरा बगरमा गरी ४ वटा नयाँ पुल निर्माण भइरहेका छन् ।

झोलुंगे पुलको लागत ठाउँअनुसार फरक हुने भए पनि प्रतिमिटर ५० हजारदेखि १ लाख २० हजार का दरले लम्बाई र लोकेशनअनुसार खर्च हुने गरेको छ । माओवादीले शाही नेपाली सेना गाउँ आएर दुःख दिन्छ भनेर काटेर क्षतिग्रस्त बनाएका तिलानदीका राराघाट, सेरिघाट, कर्णाली नदीका रेगिंल, लालीघाट, भात्तडी र जारकोटसहितका ६ वटा झोलुंगे पुल ०६४/०६५ मा निर्माण भए पनि निर्माण भएको १५ वर्ष यता लठ्ठामा लागेको खिया हटाउने, मर्मत सम्भार गर्ने काम नभएकाले सबै जीर्ण रहेको खाँडाचक्र नगरपालिकाका जुनियर इन्जीनियर कम्मरवहादुर बमले बताए ।

उनकानुसार कालीकोटका तिला, कर्णाली नदीसहित विभिन्न खोलामा वर्षौअघि निर्माण भएका पुल मर्मत सम्भारको अभावमा धराप थापेजस्ता छन् । ‘कालीकोटका मात्र दुई दर्जन बढी पुल धराप थापेजस्ता छन्,’ उनले भने, ‘जतिबेला पनि चुँडिएर दुर्घटना हुनसक्छ ।’ एकदशक जिल्ला प्राविधिक कार्यालयमा काम गरेका बमकाअनुसार शान्त्रित्रिवेणीको सान्नीघाट, काप्री खोला, पलाताको दुर्सी, तिपगाड, घाटचौर, उखाडी, नरहरिनाथको भेरे खोला, रहगाड पुल जोखिममा छन् ।

त्यस्तै, खाँडाचक्र र शान्नित्रिवेणी जोड्ने रेगिंल, खाँडाचक्रको सेरावाडा, खाँडाचक्र र शुभकालिका जोड्ने राराघाट, मुग्राहा र दाहा जोड्ने तिसेली, महाबैको गेला र खाडाचक्रको पिली जोड्ने पान्तडी, महाबैको पादमघाट, तिलागुफाको धनाडा र भात्तडी जोड्ने दानाज्यूला, चिल्खायाको कतमपुरलगायतका पुल जीर्ण छन् । उनले नया बनाउनेतिर स्थानीय तहको जोड भए पनि पुराना मर्मत साम्भारलाई बेवास्ता गर्दा दुर्घटना हुनसक्ने बताए ।

०६३ देखि ०६७ सम्म जिल्लाका विभिन्न १२ ठाउमा बनाइएका बाबियाको लठ्ठाबाट बनाइएका तुइनको सट्टा फलामे लठ्ठा र डिब्बा जडित सुधारिएको तुइनबाट पनि मानवीय क्षति भएको नागरिक समाजका अगुवा वीरेन्द्रवहादुर बुढाले बताए । उनकाअनुसार हाल जिल्लाका सबै तुइन विस्थापित भएर झोलुंगे पुल निर्माण भइसकेका छन् ।

सशस्त्र द्वन्द्वको अन्त्यसँगै पुल बनाउन थालिए पनि उपभोक्ता र ठेकेदारको ढिलासुस्तीले झण्डै डेढ दशक कालीकोटबासीले तुइन युग झेल्नु पर्‍यो । आठ वर्षअघि केपी ओली प्रधानमन्त्री बनेपछि तुइन मुक्त अभियानसँगै कालीकोटमा धमाधम झोलुंगे पुल बनेका थिए । नयाँ पुल थपिए पनि पुरानाको मर्मतसम्भारमा स्थानीय तहलगायतको ध्यान नगएको पुलको क्षेत्रमा काम गर्ने हुरेन्डेकका उपाध्यक्ष समेत रहेका बुढाले जानकारी दिए ।

दुर्गम क्षेत्र विकास समिति, स्थानीय विकास मन्त्रालय अर्न्तगत झोलुंगे पुल महाशाखा, हेल्भेटास, हुरेन्डेक, कादुरीलगायतको सहयोगमा कालीकोटमा शान्तिपछि मात्र ६८ वटा पुल बनेको कर्णाली प्रदेश प्रादेशिक सेवा प्रदायक संस्था हुरेन्डेक, सेवक जेभीका कार्यक्रम संयोजक प्रयागराज आचार्यले बताए ।

कालीकोटमा ०३२ देखि हालसम्म ७८ वटा पुल निर्माण भइसकेका छन् भने १८ वटा पुल निर्माणधीन अवस्थामा छन् । आगामी वर्षका लागि १२ वटा पुल प्रस्तावित छन् । शान्तिपछि पुल बन्ने अभियान नै चल्यो । उनले भने अचेल वर्षामा मात्र पानी हुने खोलामा पनि झोलुगे पुल छन् ।

आचार्यकाअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा सन् १९९० देखि २००८ सम्म १ सय वटा मात्र झोलुंगे पुल बनेकोमा सन् २००६ को शान्तिप्रक्रियापछि ७ सय ५९ वटा झोलुंगे पुल बनेको तथ्यांक छ । यस वर्ष मात्र कर्णालीभर १ सय ८२ वटा पुल बन्दैछन् । – Ekantipur

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search