जाजरकोट । कर्णाली प्रदेशभित्र रहेका खर्क (पाटन) हरुको संरक्षण गरिने भएको छ । प्रदेशको पहिचानको रुपमा रहेका पाटनहरुको अस्तित्व जोगाउनका लागि सो क्षेत्रको संरक्षणका कार्यक्रमहरु संचालन गरिने भएको हो ।
डिभिजन वन कार्यालयहरुको सहजिकरणमा ‘ग्लोबल इन्सिच्युट फर इन्टरडिस्प्लिटी स्टडिज’ नामक संस्थाले कर्णालीका पाटन क्षेत्रको अवस्थाको अधययन गरी संरक्षण तथा प्रवर्धनका कार्यक्रमहरु संचालन गर्न लागेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा खर्कहरु संरक्षणका लागि नीतिगत व्यवस्था नै गरेर योजना अघि सारेपछि यो कार्यले प्राथमिकता पाएको हो ।
कर्णालीका १० जिल्ला मध्य सबैभन्दा बढी डोल्पा जिल्लामा खर्कको क्षेत्रफल रहेको छ । त्यस्तै हुम्ला, मुगु, जुम्ला र कालिकोटमा पनि प्रयाप्त खर्क क्षेत्र रहेको संस्थाले जनाएको छ । त्यसैगरी जाजरकोट, रुकुम पश्चिम र दैलेख जिल्लामा पनि खर्क क्षेत्रहरु प्रपाप्त रहेको पाइएको छ । सल्यान र सुर्खेतका खर्क क्षेत्रको समेत अध्ययन गरी संरक्षणका कार्यक्रमहरु संचालन गरिने उक्त संस्थाले अध्यक्ष डा. शिवबाबु श्रेष्ठले बताए । आफूहरुले करीब २५ सय वर्ष पहिलेदेखि हालसम्मको यस क्षेत्रको खर्कको अवस्थाको बारेमा अध्ययन गरिरहेको डा. श्रेष्ठको भनाई छ ।
खासगरी समुद्री सतहदेखि ३५ सय मिटर उचाइमा रहेको बोटबिरुवा नभई मसिनो घाँस भएको क्षेत्रलाई खर्क अथवा पाटन भनिन्छ । जलवायु परिवर्तका कारण पछिल्लो समय खर्कहरुको अस्तित्व समेत संकटमा पर्दै गएको छ । परिवर्तित मौसम र पशु चौपाय पालनमा कमि लगायतका कारणले घस्यान क्षेत्रमा मिचाहा प्रजातिका बोटबिरुवा फैलिएर सो क्षेत्रको पहिचान नै बदलिन पुगेको छ ।
उक्त क्षेत्रको परिवर्तनले सिंगो मानव जीवनमा समेत प्रभाव पारेको डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दासले बताए । मंगलबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न खर्कहरुको अवस्था मापन तथा व्यवस्थापन रणनीति र कार्ययोजना विषयक जिल्ला स्तरीय गोष्ठिमा कार्यालय प्रमुख दासले यस्तो बताएका हुन ।
जिल्लाका सबै सरोकारवालाहरूको सहभागिता रहेको उकत कार्यक्रमलाइ सम्बोधन गर्दै भेरी नगरपालिकाका नगरप्रमुख सिपी घर्तीले खर्क क्षेत्रको अस्थित्व पुर्खाहरुसंग जोडिएकोले यसको संरक्षढा हामी सबैको रहेको बताए । प्रदेश सरकारले अघि सारेको उक्त कार्यक्रमलाई आफुहरुले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको नगरप्रमुख घर्तीको भनाई छ ।





