– विद्याश्री सिंह, जाजरकोट ।
अब हेर्दैहेर्दिन भनेको थिए, हेरिरहने आँखाहरुलाई
अब सुन्दै सुन्दिन भनेको थिए, बासुरीको धुन
तिम्रो नभएपछि त, हुदैहुदिन भनेको थिए। कसैको पनि!
तर मलाई फेरि प्रेम भएको छ।
असरल्ल बिस्तारामा पल्टिएर
समासित सपनाहरु देख्न थालेको छु
घामको उज्यालो संग नडराउने भएको छु
चिसो रातमा चिसो भुइँमा बसेर,
म फेरि गन्न थालेको छु ताराहरु
मलाई लाग्छ, मलाई फेरि प्रेम भएको छ।
भुइफुलहरु बटुलेर सजाउन थालेको छु शिरमा
भिडहरुमा अलिक धेरैबेरसम्म उभिनसक्ने भएको छु
आफै संग साउती गरेर मुस्कुराउन थालेको छु।
एक झुल्को घाम,
एक चौथाई चिसो भुइँ
भुइँमा पोखिएका पातहरु
फुलहरुमा पोखिएका रङ्गहरु
आकाशमा दौडिएका बादलका टुत्राहरु हेरेर
फेरि मग्न हुन थालेको छु म
मलाई अनौठो लाग्दैछ,मलाई फेरि प्रेम भएको छ ।
म संग भर्खरै दुखेको हृदय छ
भर्खरै दुख्न छाडेका घाउहरु छन
बर्सिएर ओभाउनै नपाएका आँखा हरु छन ।
मलाई नरमाइलो लाग्दैछ,यस्तो बेलामा
मलाई फेरि प्रेम भएको छ ।
तिमी संगै लिएर जाउ भनेको होइन ?
मेरा सबै अनुभुतिहरु !
पहिलो पाइलाले कुल्चिनु भनेको होइन? मेरो हृदय!
जानेहरूले त सबथोक लिएर जानू नि!
तिमी त फगत आफुलाई मात्रै लिएर गएछौ आफूसंग
प्रेममा लुटिएर पनि ‘हृदय’ नगुमाएको कस्तो प्रेमी भएछु म?
अब मैले बन्द गर्नुपर्नेछ, कोठाका झ्यालढोका
र हेर्नू हुनेछैन घाम’जून
हिड्नु हुनेछैन बगैंचाको छेउ भएर
बोल्नुहुनेछैन बच्चाहरु संग
मलाई डर लागिरहेको छ आफ्नै अनुभुतिहरु संग
यतिबेला,
म आत्तिएको छु,त्रसित छु, बेचैन छु, रोइरहेको छु ।
किनकि मलाई लाग्दैछ,मलाई फेरि प्रेम भएको छ ।




