बर्सौ पहिला फलामे ढोका पार गरेर,
उच्च शिक्षा हासिल गर्न
बृद्ध बा-आमाको सपना बोकेर
सयकडा पाँचले साहुको ऋण काढेर
खाइ नखाइ भएपनि घुडा धसेर
हातका औंलाहरुमा कलम च्यापेर
आखाँहरुलाई हरेक रात बिउझै राखेर
त्यो शहरबाट उदाउन सकेन एउटा छोरा ।
अरुकै लहलहिमा लागेर,
किताब बोकेर हिड्ने उमेरमा
पार्टी भनौदाको झन्डा समाएर
मौन देखीने कयौं ती भित्ताहरुमा
नाथे पार्टीकै पर्चा र पम्पिलेट टाँस्दै
कागजी पानाहरुमा सिमित रहेका
दुईचार थान एजेन्डा लिएर
दुरदराजका गाउँ अनि बस्तिहरुमा
भर्खरै अक्षरहरुमा बामे सर्दै गरेका
ससाना नानी बाबुहरुलाई
चक्लेट जस्तै मिठा कुरा सुनाउँदै
अनि बुढा बाजे बज्यैहरुलाई
दुखाई कम गर्ने ओखती जस्ता
आश्वासन बाँड्दा बाँड्दै
उतै कतै हरायो एउटा छोरा ।
ल भन्नुहोस १
म तपाइलाई कुन शिर्षकको कबिता सुनाउ ?
बिचरा भ्याई नभ्याई
मास्टसं डिग्री उतिर्ण गरेका
असली प्रमाणहरुको चाङ लगाउँदै
आँखामा सुन्दर सपना अनि
काँधभरी आफ्नो जिम्मेवारी बोकेर
तिनै प्रमाणपत्रहरुले भरीएको
सानो झोला भिरेर
मन गरुङ्गो, आँखा धमिलो बनाउँदै
नाइट बस चढेर
भेरी नदिको तिरतिरै लाग्यो
एउटा बेरोजगार ।
अर्को बेरोजगार
हरियो पासपोर्ट हातमा समाएर
घरैघरले भरीएको कोलाहल शहर
जहाँ पैसामा सबथोक बिग्छ
तर इमान बिग्दैन
त्यहि अन्जान शहरका गल्लिहरुमा
तारा जस्तै छर्पस्ट देखिने
बेरोजगारहरु मध्य
आफुलाई पनि साबित गर्दै,
योग्यता र क्षमता अनुसार
प्रत्येक मेनपावरहरुमा
धाउँदा धाउँदै ठूलो जहाज चढेर
आकाशको बाटो हुँदै,
तातो खाडीसम्म पुग्ने सपना
अन्ततः राजधानीमै सेलाउनु पर्यो
सरकार !
तिम्रै हातबाट तातै गोलि खाएर ।
ल भन्नुहोस् ! म अब कुन शिर्षकमा कविता लेखु ?
🖊️ पुष्कर ‘पराग’ चन्द
भेरी नगरपालिका ५ छिप्रेना, जाजरकोट




