ए मान्छे –
मलाई नखोज्नू !
भेटिने छैन म –
कुनै अनाम देउरालीहरूमा
जहाँ-
उकालो उक्लिरहेका होऊन् मेरा पैतालाहरू
जहाँ-
ओरालो झरिरहेका होऊन् मेरा पैतालाहरू
पर्खिरहेको हुनेछैन कसैलाई- कुनै चौतारीहरूमा
हिंडिरहेको हुनेछैन- सपनाका राजमार्गहरूमा
ओढेर बादलको बर्को
छोपेर हावाको सर्को
म नाँचिरहेको हुनेछैन कतै!
हुनसक्छ-
वेवास्ताको अक्करे पहाडले थिचेपछि
म हिंडिरहेको हुनेछु- कुनै निर्जन डाँडाहरूमा
हुनसक्छ-
अकर्मण्यताले न्याँकेपछि- अनकन्टार प्रान्तहरूमा
म घृणाको अँध्यारो निलेर
हिंडिरहेको हुनेछु- चिसा पहाडहरूमा
वा, हुनसक्छ-
ग्लानीका अँध्यारा गल्लीहरूमा
बाँचिरहेको हुनेछु- आँसुको घुटनसित!
ओ! मान्छे!
अब मलाई नखोज्नू
नहेर्नू- तिम्रा आँखाहरूमा
नछाम्नू- परेलीहरूमा
नखोज्नू- ओठहरूमा
म खसिरहेको हुने छैन- आँसु बनेर
म बसिरहेको हुने छैन- खुशी बनेर ।
– क्षितिज समर्पण
भेरी नगरपालिका ४, जाजरकोट (हाल काठमाडौं)




